सेयर बजारको ओरालो यात्रालाई आज पनि निरन्तरता
काठमाडौ,असार २३: सेयर बजारले ओरालो यात्रालाई आज पनि निरन्तरता दिएको छ । यस साताको पहिलो दिनबाट नै लगातार घटिरहेको नेप्सेले चौँथो दिन आज (बुधबार) पनि ओरालो यात्रालाई नै निरन्तरता दिएको हो । तर आज कारोबार रकममा भने झिनो सुधार देखिएको छ । मंगलबार ४ अर्ब २२ करोड ४० लाख रूपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ५८ करोड माथिको कारोबार भएको हो ।
माैद्रिक नीति सार्वजनिक गर्ने समय नजिकिन थालेकाे छ । चालु आर्थिक वर्ष पनि सकिन लागेको छ । असार मसान्त नजिकिएसँगै व्यवसायीहरूलाई कर तथा किस्ताहरू तिर्नलाई तनाव थपिएको छ । करहरू चुक्ता गर्न लगानीकर्ताको लगानी सेयर बजारबाट बाहिरिएको छ । यस्ता कुराकाे प्रभाव बजारमा देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा झरेकाे छ । नेप्से ०.६० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.५० अंकले घटेर ५२५.२४ विन्दुमा झरेको छ । कूल २२२ वटा कम्पनीकाे एक कराेड १६ लाख ६४ हजार २ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९ सय ७६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेको छ ।बुधबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : छिमेक लघुवित्त, अपर तामाकाेशी, हिमालयन डिष्टीलरी, नेपाल पूनर्बीमा कम्पनी, निर्धन उत्थान लघुवित्त् नेपाल टेलिकम, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआइसी एशिया बैैंक, नेपाल इन्स्याेरेन्स र सिद्धार्थ बैंक रहेका छन् ।