राष्ट्रिय

स्थानीयवासी र प्रहरीबीच झडप

0Shares

काठमाडौ,साउन ६: धनगढी उपमहानगरपालिका– ३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा मंगलबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन्।वडा नं ३ र २ को बीचमा पर्ने ‘छ लेन’ सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने क्रममा वडा नं. २ का बासिन्दाले अवरोध सिर्जना गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
त्यस क्रममा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी राउण्ड अश्रुग्यासको प्रयोग गर्नुपरेको अधिकारीले बताए।केही दिनदेखि भइरहेको वर्षासँगै वडा नं ३ को कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरणको कार्यालय, विशालनगरलगायतका टोल आसपासमा दुई तीन फिटसम्म पानी जमेको छ।जमेको पानी निकास नहुँदा वडा नं ३ स्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनसमेत डुबानमा परी विद्युत् आपूर्ति बन्द हुने र विद्युतीय उपकरणमा ठूलो क्षति पुग्ने देखिएकाले प्रहरीको पहलमा होचो भूभाग रहेको वडा २ तर्फ जमेको पानी निकास गर्ने प्रयास गरिएको थियो।

0Shares