राष्ट्रिय

स्वास्थ्य पूर्वाधार, रोजगारी र कृषि क्रान्तिमा बजेट केन्द्रित गरिनेः अर्थमन्त्री डा. खतिवडा

0Shares

सरकारले प्रतिनिधि सभामा आगामी वर्षको बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गर्दै बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सृजना र कृषि क्रान्तिमा आधारित हुने बताए ।

कोरोना महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक समस्यालाई समाधान गरी दीगो पूर्वाधार निर्माण गर्न बजेट तथा कार्यक्रम केन्द्रित हुने जानकारी दिँदै डा. खतिवडाले तत्काल कोरोना महामारीसँग जुध्न तथा भविष्यमा आउनसक्ने यस्तै प्रकोपसँग जुध्न आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता हुने बताए ।

प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य पूर्वाधार, जनशक्ति उत्पादन तथा इक्वीपमेन्ट व्यवस्थापन गर्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिने जानकारी दिँदै उनले हरेक नेपाली नागरिकमा स्वास्थ्य उपचारको पहुँच स्थापित गर्न बीमा कार्यक्रम विस्तार गरिने बताए ।

विदेशी सहायतालाई पनि स्वास्थ्य तथा दीगो विकासका आयोजनामा परिचालन गर्ने रणनीति लिने जानकारी दिँदै खतिवडाले यो रणनीति नियमित भन्दा फरक हुने प्रष्ट पारे ।

सरकारको दोस्रो प्राथिमकता रोजगारी हुने भन्दै उनले कोरोना महामारीपछिको अवस्थामा बेरोजगारी भयावह हुने प्रक्षेपण भएकाले बजेट तथा कार्यक्रम पनि त्यसलाई न्यूनीकरणमा केन्द्रित गरिने बताए ।

स्वदेशमै रोजगारीको अभाव बढेका बेला विदेशमा गएका नेपाली फर्किने संभावना भएकाले बेरोजगारलाई लक्षित गर्दै विशेष कार्यक्रम ल्याउने भन्दै खतिवडाले कोरोना महामारीका कारण गुमेको रोजगारी पुनरुत्थान, नयाँ रोजगारी सिर्जना तथा स्वरोजगारका लागि उद्यमशिलताको अधिकतम उपयोग हुने खालको बजेट तथा कार्यक्रम तर्जुमा गरिने बताए ।

वैदेशिक सहायता परिचालनमा निजी क्षेत्रलाई समेत परिचालन गरी उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने सरकारको रणनीति रहेको उनले बताए । सीप विकासका लागि सरकारले विशेष कार्यक्रम बनाउने खतिवडाले बताए ।

रोजगारी सिर्जनाका लागि कृषि क्रान्ति गर्ने भन्दै उनले कृषि क्रान्तिको विस्तृत मोडालिटी बजेट तथा कार्यक्रम पछि ल्याइने उनले बताए । सामूहिक खेती, भूमि बैंक र सबैमा भूमिको पहुँचका लागि सरकारले नीति बनाउने उनको भनाइ छ ।

खतिवडाले अत्यावश्यक बाहेक नयाँ आयोजनामा बजेट बिनियोजन नहुने प्रष्ट पार्दै अहिलेका रुपान्तरणकारी आयोजनालाई भने बजेट कटौति नगर्ने जनाए । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गरिने उनले बताए ।

कोरोनाका कारण उत्पादन तथा खपत घटेकाले सरकारी लक्ष्यअनुसार राजश्वको आधार खुम्चिने भन्दै उनले आगामी वर्ष करको दर बृद्धि गर्ने लक्ष्य नभएको र कर प्रणालीमा सहजीकरण तथा चुहावट नियन्त्रण र दायरा विस्तारबाट राजश्व बढाइने बताए ।

कोरोनाबाट बढी प्रभावित पर्यटन क्षेत्रका समस्या सम्बोधन गर्न सरकारले विशेष प्याकेज ल्याउने जानकारी पनि मन्त्री खतिवडाले दिए । linkedin sharing button

Source:Imagekhabar.com

0Shares