हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाईने
काठमाडौ,चैत १९: नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् ।अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने नेपाल दूरसञ्चार प्रािधकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।
गत ९ चैतमा बसेको प्राधिकरण बोर्डको बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार हवाई जहाजभित्र प्रयोग हुने इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन परेमा प्राधिकरण बोर्डले इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ ।प्राधिकरणले यो निर्णय गरेसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो मुलुक भएको छ । यसअघि अफगानिस्तान र भारतले यस्तो सेवा सञ्चालनमा ल्याइसकेका छन् । यसअघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिए तापनि कुनै नीति नहुँदा स्वीकृति प्रदान गर्न सकिएको थिएन ।प्राधिकरणका अनुसार ६ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउन स्वीकृति मागेको थियो । १० हजार फिटभन्दा माथि उड्ने विमानमा मोबाइल सेवा र इन्टरनेट सेवा सञ्चालनका लागि विमानभित्रै पिको सेल अर्थात् फोरजीको सानो बीटीएस राख्नुपर्नेहुन्छ ।
सो बीटीएस स्याटेलाइटमार्फत कनेक्ट भई विमानमा सेवा उपलब्ध हुने गर्छ । बीटीएस स्याटेलाइटमा कनेक्सन भने जुन देशको विमान हो । त्यही देशको दूरसञ्चार सेवा प्रदायकसँग हुने गर्छ ।यसका लागि प्लेनमा पिको सेल अर्थात सानो प्रकारको बेसस्टेसन राखिएको हुन्छ । प्लेनले अन्य समयमा पनि जमिनमा रहेको टावर र सेक्युरिटी सेन्टरमा आफ्नो बारेमा स्याटेलाइट कनेक्सनमार्फत नियमित जानकारी उपलब्ध गराइरहेका हुन्छन् ।नेपाली विमान कम्पनीमा बीटीएस राखिसकेपछि विभिन्न दूरसञ्चार प्रदायकसँग कनेक्ट हुने भएकाले नेपाली यात्रु लाभान्वित हुनेछन् । यो व्यवस्थासँगै १० हजार फिटमा उडेपछि मोबाइल अन गर्न सकिनेछ । अहिले विमानभित्र पसेदेखि नै मोबाइल स्विच अफ गराउने गरिन्छ । यद्यपि स्वीकृति लिएका कम्पनीले नेपाली आकाशमाथि अन्य देशका सेवाप्रदायकको नेटवर्कले पनि काम गर्न पाउनेछ ।