राष्ट्रिय

हाम्रो नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन:देउवा

0Shares

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस नयाँ सरकार गठन सम्भव नहुने करिब निष्कर्षमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय तत्काल पुरा नहुने निष्कर्षमा पुगेको बुझिएको छ ।शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँगको छलफलपछि काँग्रेस सभापति शेरबहादुर देउवाले करिब एक घण्टा आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पनि बूढानीलकण्ठबाट बाहिरिएपछि भएको उक्त छलफलमा आगामी रणनीतिबारे कुराकानी भएको स्रोतले रातोपाटीलाई जानकारी दियो ।

देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले सुरु देखिनै भन्दै आएको हो । हाम्रो नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन । काँग्रेसको नेतृत्वमा सरकार बन्न निर्वाचनको विकल्प छैन । महन्थ ठाकुर गठबन्धन बनाउन होइन यहाँ देखिन मात्र आउनुभएको देखियो नि !’स्रोतका अनुसार देउवाले निर्वाचनको माहोल निर्माणका लागि आन्तरिक रुपमा जोडदिन नेताहरुलाई आग्रह गरेका थिए । सत्ता समीकरणको विषयका कारण बैठक नै बस्न नसक्ने अवस्थामा पुगेको जसपाले एकमतका साथ गठबन्धनका लागि राजी हुनेमा देउवालाई विश्वास नै छैन । अर्कोतिर वरिष्ठ नेता पौडेलबाहेकका शीर्षस्थ नेता सत्ताको खेल बाहिरै देखिन्छन् ।देउवाले शुक्रबार एक कार्यक्रमा आफू सत्ताको खेलमा नभएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए । यसबाटै प्रष्ट हुन्छ काँग्रेसभित्र नयाँ सरकार निर्माण भन्दा पनि ‘अर्ली इलेक्सन’ को राप उठेको छ ।उक्त कार्यक्रममा देउवासँग उपसभापति विमलेन्द्र निधिले पनि सरकार निर्माणको कुरा यथार्थ धरातल बाहिर भएको बताएका थिए । काँग्रेसभित्र सरकारको विकल्प खोज्नुपर्छ भन्नेमा एकमत भए पनि तीन दल एक ठाउँमा आउनेमा अझै द्विविधा छ ।

काँग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले रातोपाटीसँग भने, ‘माओवादी केन्द्रले अहिलेसम्म समर्थन फिर्ता नै लिँदैन, यता अहिले पनि जसपाको एउटा घटक नयाँ सरकार निर्माणमा इच्छुक देखिएको छैन । काँग्रेसको नेतृत्वमा सरकार बन्छ÷बन्दैन, द्विविधा नै छ ।हिजो उहाँहरु (जसपाका नेता) हाम्रो प्रस्ताव सुनेर फर्किनुभयो । बैठक सकरात्मक नै भए पनि परिणाममुखी भने देखिएन ।’ यही द्विविधाले गर्दा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर फेरि चुनाव घोषणा हुन सक्ने महतले सम्भावना औँल्याए ।तीन दलबीच सहकार्य नहुनुमा चुनावमा जाने रुची र जसपाका निलम्बित सांसद रेशम चौधरीको रिहाइमा सम्झौता नगर्ने काँग्रेसको अडानले समस्या खडा भएको बुझिएको छ ।माओवादी केन्द्र दुई वर्षअघि चुनावमा जाने मुडमा छैन भने जसपाले चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । यी दुई विषयमा सम्झौता गर्नु काँग्रेसका लागि प्रतिकुल हुने महतले संकेत गरेको बुझ्न गाह्रो छैन ।‘नेपाली काँग्रेसले आगामी निर्वाचनलाई केन्द्रविन्दुमा राखेको छ । यो संसद पूरै अवधि चले पनि डेढ वर्ष बाँकी छैन,’ सभापति देउवाको पथमिकता सुनाउँदै महतले भने, ‘डेढ वर्षसम्म चल्ने÷नचल्ने ठेगान छैन । त्यसैले, आगामी चुनावको तयारी गर्ने र एक्लै सरकार बनाउने हाम्रो मूल उद्देश्य हो । हामी हाम्रो नेतृत्वबाहेक चुनावमा जाँदैनौँ भन्दैनौँ ।’पुस ५ मा प्रतिनिधिसभा विघटन यता सभापति देउवा र उनी निकट नेताबाट आइरहेका धारणाले काँग्रेसलाई सरकारको नेतृत्वभन्दा पनि निर्वाचन चाहिएको प्रस्टै छ ।

0Shares