राष्ट्रिय

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

0Shares

काठमाडौ,असार २० :लगातार अविरल वर्षा भएपछि पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । लगातार परिरहेको वर्षाका कारण मकवानपुरको धरै जस्तो स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो । हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्र्तगतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघझोरामा बाढीका कारण सडकमा अवरोध भएको छ भने भिमफेदी–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ, थाहा नगरपालिका–१२ गैरीगाउँमा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । त्यस्तै काठमाडौं जोडने छोटो दुरीको मार्ग भैस–कुलेखानी–भिमफेदी–काठमाडौं जोड्ने २ वटा सडक फाखेल–हुमाने र सिस्नेरी–दक्षिणकाली सडक खण्ड पनि पहरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त सडक खण्डको भिमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भिमफेदी–६ गढी, देराली, फाखेल–हुमाने सडक खण्ड तर्फको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महालक्ष्मी खोला, ईन्द्रसरोबर–२ कुलेखानीमा पहिरो कारण सडक अवरुद्ध भएकोे प्रहरीले जनाएको छ । यता कान्तीलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर–८ गंगटेमा वर्षका कारण कालोपत्रे नै बगाउँदा सडक अवरुद्ध भएको छ । कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाडामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । अवरुद्ध सडक खुलाउने कार्य भइरहेको तर वर्षाका कारण पहिरो हटाउन समस्या भइरहेको प्रहरी निरीक्षक दासले बताए ।

0Shares