राष्ट्रिय

होलि नखेल्न गृहको निर्देशन

0Shares

काठमाडौ,चैत १३: गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरेको छ । ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ ।भीडभाडमा हुन नदिने गृह मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ । चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् ।

कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।यता,काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । ‘कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौँ,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र कानुन विपरितका क्रियाकलाप हुन दिँदैनौँ ।’जबर्जस्ती लोला हान्ने र अन्य व्यक्तिलाई डिस्टर्व गर्नेहरुलाई पनि नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरीको योजना छ । ‘जबर्जस्ती गर्ने र अनावश्यक हैरानी दिनेलाई कारवाही गर्छौँ,’ एआईजी पालले भने, ‘परिवारमा बसेर होली मनाउन र सुरक्षा सतर्कता अपनाउन माइकिङ गर्न शुरु गरिएको छ ।’फागु पूर्णिमाको दिन काठमाडौं, भक्तपुर र ललितपुरमा पिकेट ड्युटी, मोवाइल गस्ती र सिआरभी भ्यानमा प्रहरी परिचालन गरिन्छ । भीडभाड हुन नदिन रिजर्भ फोर्स तयारी अवस्थामा राखेर उपत्यकाका ३ जिल्लामा सुरक्षा योजना लागू गरिएको छ । काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । जबर्जस्ती लोला हान्ने र विपरित लिंगीलाई हैरानी दिने गतिविधिको निगरानी गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

0Shares