राष्ट्रिय

१४औं महाधिवेशनको नयाँ मिति तोकीदै

0Shares

काठमाडौ,फागुन ४: कांग्रेसले आगामी केन्द्रीय समिति बैठकमार्फत पार्टीको १४औं महाधिवेशनको नयाँ मितिसमेत तोक्दैछ । यसअघि ७ देखि १० फागुनसम्म पार्टीको १४औं महाधिवेशन गर्ने गरी कांग्रेसले गत २२ असारमा निणर्य गरेको भए पनि विश्वव्यापी कोरोना संक्रमणका कारण महाधिवेशन कार्यतालिका शुरुदेखि नै प्रभावित बनेको थियो ।कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समिति बैठकमा वर्तमान केन्द्रीय समितिको सकिनै लागेको समय, महाधिवेशनको नयाँ मिति र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल हुने जानकारी दिए ।‘बैठकमा केन्द्रीय समितिको सकिनै लागेको समय, महाधिवेशनको नयाँ मिति र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल हुन्छ,’ उपसभापति निधिले भने । 

कांग्रेसले आगामी जेठ अन्तिम वा भदौ पहिलो सातासम्म महाधिवेशनको मिति तोक्ने तयारी गरेको हो । सभापति शेरबहादुर देउवामाथि महाधिवेशनको तोकिएको मिति प्रभावित भएसँगै नयाँ मिति तोक्न पार्टी भित्र तिव्र दबाब छ ।देउवाले प्रतिनिधिसभा पुर्नस्थापना भयो भने आगामी जेठ भित्रमा नै महाधिवेशन गर्न चाहेका छन् । तर निर्वाचनमा जानु पर्ने अवस्था आयो भने भदौमा मात्रै महाधिवेशन गर्न सकिने भन्दै आफू निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् । यसरी हेर्दा आगामी बैठकबाट कांग्रेसले पहिले पार्टीको सकिनै लागेको म्याद थप गर्ने र त्यसपछिको बैठकबाट मात्रै कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न सक्ने देखिन्छ । यसअघि कांग्रेसको १३औं महाधिवेशन २०–२३ फागुन २०७२ मा काठमाडौंमा भएको थियो ।

0Shares