पुंजीबजार

२०७७ मा नेपाली धितोपत्र बजार बुलिश

0Shares

काठमाडौ,वैशाख २: वि. सं. २०७७ मा नेपाली धितोपत्र बजार बुलिश रह्यो। अर्थात समग्रमा धितोपत्र बजारका लगानीकर्ताहरुका लागि सो वर्ष सुखमय रह्यो। सो वर्ष बजारमा धेरै सकारात्मक परिवर्तन हुनुका साथै नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुग्यो।गत वर्ष नेपाली धितोपत्र बजार धेरै लगानीकर्ताहरु भित्रिए। सो वर्ष बजारमा देखिएको बुलको चमकले धेरै मानिसहरुलाई आकर्षित गर्यो। यससँगै सो वर्षको अन्तिम दिनसम्ममा करिब ३४ लाख डिम्याट खाताहरु खोलिएका छन्।कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण लगानीका अन्य क्षेत्रहरु ठप्प भएपछि ती क्षेत्रका लगानी पनि शेयर बजारमा नै भित्रिएको विश्लेषण गरिएको थियो। सोही कारण गत वर्ष नेप्सेमा कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको थियो।

मुलुकभर जारी गरिएको लकडाउनले नेपाली धितोपत्र बजारलाई प्रविधिमैत्री बनाउन धेरै हदसम्म सहयोग गरेको लगानीकर्ताहरु बताउँछन्। अहिले अधिकांश लगानीकर्ताहरु अनलाइनमार्फत कारोबार गरिरहेका छन्। यद्यपि, धेरै लगानीकर्ताहरुको आबद्धता र कमजोर प्रणालीका कारण बेला बेलामा लगानीकर्ताहरु समस्या भोग्दै आएका छन्।गत वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु अर्थात २७१४.७९ विन्दुमा पुगेर बन्द भयो। अघिल्लो वर्ष १२५१.४५ विन्दुमा बन्द भएको नेप्से, गत वर्ष कुल ११६.९३ प्रतिशत अर्थात १४६३.३४ अंक बढ्यो। त्यसैगरी, गत वर्ष ९१ लाख २८ हजार पटकको कारोबारमा ८ खर्ब ५४ अर्ब ७२ करोड रुपैयाँ बराबरको २ अर्ब ८५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।गत वर्ष नेप्सेको कुल बजार पूँजीकरण साढे २१ खर्ब रुपैयाँ बढेको छ। अघिल्लो वर्षको अन्तिम कारोबार दिन १६ खर्ब रुपैयाँ रहेको यस्तो पूँजीकरण, गत वर्ष २१ खर्ब ५८ अर्ब रुपैयाँ बढेर ३७ खर्ब ५९ अर्ब पुगेको छ।

0Shares