राष्ट्रिय

५७.३ मेवाको म्याग्दी खोला जलविद्युतमा मलेशियाली कम्पनीद्वारा सम्झौता

0Shares

 म्याग्दीको धौलागिरि गाउँपालिकामा निर्माण हुन लागेको ५७ दशमलव ३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ । 

आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रोभिलेज प्रालि र सेर्वा दिनामिकबीच शेयर खरीद, इञ्जिनीयरिङ, निर्माण र उत्पादन (ईपीसीसी) मा सहभागी हुने सम्झौता भएको हो । मलेशियाको सेर्वा दिनामिक होल्डिङ्स बर्हादको सहायक कम्पनी सेर्वा दिनामिकले परियोजनाको सञ्चालन तथा मर्मत पनि गर्ने सम्झौतामा उल्लेख छ ।     
     
 सम्झौतामा सेर्वा दिनामिकका तर्फबाट डा इर मोहम्मद अब्दुल करिम बिन अब्दुल्लाह तथा हाइड्रोभिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरेका छन्  । सेर्वा दिनामिकअन्तर्गतका कम्पनीको समूहमा अन्तरराष्ट्रिय ऊर्जा सेवा प्रदायक पनि छ जसले विश्वका विभिन्न पाँच क्षेत्रमा इञ्जिनीयरिङ सेवादेखि सञ्चालन तथा मर्मत, खरीद, निर्माण र उत्पादन गर्दै आएको छ ।     
     
१० करोड अमेरिकी डलर लागत अनुमान गरिएको म्याग्दी खोला जलविद्युतको विसं २०७५ असोज पहिलो हप्ता नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद विक्री सम्झौता (पीपीए) भएको थियो । पाँच वर्षमा विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ ।     
     
 आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा  प्रतियुनिट रू.८ र ४० पैसा र वर्षातमा रू.४ र ८० पैसाका दरले खरीद गर्नेछ । म्याग्दी खोलामा नदी प्रवाही (आरओआर) आयोजनाको बाँध धौलागिरि गाउँपालिका–४ मुदीको दोभान र विद्युतगृह बगरको जेल्तलुङमा प्रस्ताव गरिएको छ ।     
     
 बाँधसम्म पुग्न कल्लेनीदेखि २४ किलोमिटर पहुँचमार्ग खन्नुपर्छ । अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउराको भिरसम्म पहुँचमार्ग खन्न शुरु गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा निर्माण हुन लागेको सवस्टेशनबाट १३२ केभी प्रसारण लाइनमा जोडिने छ ।     
     
 प्राधिकरणले डाँडाखेतमा सवस्टेशनसँगै त्यहाँदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटसम्म प्रसारण लाइन र राहुघाटमा अर्को सवस्टेशन निर्माणको प्रक्रिया अघि बढाएको छ । पहुँचमार्ग विस्तारपछि साढे तीन वर्षमा आयोजना बनाउन सकिन्छ । आयोजनाले ३३ करोड ५९ लाख युनिट बिजुली उत्पादन गर्ने छ  ।

Source:Abhiyandaily.com

0Shares