काठमाडौं उपत्यकामा आइतबारदेखि सवारी चलाउन ‘टाइम कार्ड’
काठमाडौं उपत्यकामा आइतबारदेखि सवारी–साधन चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ ।
अत्यावश्यक सेवाका कार्यालय तथा व्यापरिक प्रतिष्ठानहरु खोल्ने तयारीस्वरुप उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा महानगरीय ट्रापिक प्रहरी महाशाखाले सवारी–साधनमा टाइम कार्ड लागू गर्ने निर्णय गरेका हुन् ।
ट्राफिक प्रहरी महाशाखाकाअनुसार सरकारी कार्यालयका कर्मचारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जाने र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनुपर्ने छ ।
यी सेवाका कार्यालयहरुमा एक तिहाइ कर्मचारीमात्रै रहनुपर्ने व्यवस्था गरिएको छ भने उनीहरु पनि तोकिएको समयभन्दा बाहेक सडकमा निस्कन पाउने छैनन् ।
यस्तै, तरकारी तथा खाद्य सामग्री ओसार्ने सवारी–साधनले बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने छ भने पानी वितरण गर्ने सवारी–साधनलाई रोकतोक गरिएको छैन ।
निर्माण सामग्री ढुवानी गर्ने सवारी–साधन भने साँझ ८ बजदेखि बिहान ६ बजेसम्म चल्न पाउने छन् ।
सर्वसाधारणले विनाकाम घरबाहिर निस्कने वा सवारी–साधन लिएर हिँड्न नपाउने पनि ट्राफिक कार्यालयले जनाएको छ ।
Source:Imagekhabar.com