एनएमबि बैंकको नाफा १४ % बढ्यो, वितरणयोग्य नाफा ५८ करोडभन्दा बढी
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि बैंकले रू. १ अर्ब ८८ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले मंगलवार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष १४ प्रतिशत बढी खुद नाफा भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. १ अर्ब ६५ करोड ११ लाखभन्दा बढी थियो । तेस्रो त्रैमाससम्म वितरण योग्य नाफा रू. ५८ करोड ७७ लाखभन्दा बढी छ ।
यो वर्ष गत वर्षभन्दा २० प्रतिशतले सञ्चालन नाफा घटेको कम्पनीको नाफामा भने वृद्धि देखिएको छ । गत वर्ष यस अवधिसम्म रू. २ अर्ब ३४ करोड ९१ लाखभन्दा बढी सञ्चालन नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. १ अर्ब ८७ करोड ६५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
खुद व्याज आम्दानी भने गत वर्षभन्दा ३८ दशमलव ८३ प्रतिशत बढी रू. ४ अर्ब २९ करोड ५७ लाखभन्दा बढी भएको छ ।
चुक्तापूँजी ४५ प्रतिशत बढी रू. १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार पुर्याएको उक्त कम्पनीले रू. ६ अर्ब ३३ करोड ३८ लाखभन्दा बढी जगेडा कोष कायम गरेको छ ।
जगेडा कोष रकम ८१ दशमलव ३९ प्रतिशत बढी भएको हो । गत वर्षभन्दा यस वर्ष उक्त कम्पनीले साढे ३० प्रतिशत बढी रू. १ खर्ब २७ अर्ब ९३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।
त्यस्तै ३० दशमलव ६० प्रतिशत बढी रू. १ खर्ब १५ अर्ब ५६ करोडभन्दा बढी कर्जा प्रवाह यस वर्ष कम्पनीले गरेको छ ।
निष्क्रिय कर्जा शून्य दशमलव ७९ प्रतिशतदेखि २ दशमलव ४८ पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. १४६ दशमलव ८३ छ ।
Source:Abhiyandaily.com