राष्ट्रिय

‘क्वारेन्टाइनबाट भागेको होइन, रक्सी लिन गएका हुन्’

0Shares

नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ ।

रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुई/तीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए ।

रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले ती युवा भागेको नभई बजारबाट मगाएको मदिरा लिन गएको बताए । उनीहरुले साथीमार्फत बजारबाट मदिरा मगाएका थिए ।

मदिरा लिएर फर्किँदा प्रहरीले देखेपछि भागेका रायले बताए । ‘साथीले मदिरा ल्याइदिएपछि बाहिर निस्किएको बेला सुरक्षाकर्मीले देखेपछि उनीहरु भागेका हुन्, क्वारेन्टाइनबाट भाग्न खोजेका होइनन्’ रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले दावी गर्दै भने, ‘१८–१९ वर्षका दुई/तीन जनाले मदिरा मगाएर सेवन गरेको स्वीकार गरे, हामीले आइन्दा त्यसो नगर्न सम्झायौं ।’

क्वारेन्टाइनमा बसेका युवाहरुले कुन मदिरा कति परिमाणमा सेवन गरे भन्ने पत्ता नलागेको रायले बताए । उक्त क्वारेन्टाइनमा ४९ जना रहेका छन् ।

Source:Onlinekhabar.com

0Shares