ट्राफिक सचेतना डमीबाट
ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । उपत्यकामा दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको सुरु गरिएको छ । डमीद्वारा ट्राफिक नियमसम्बन्धी गितहरु बजाएर सर्वसाधारणलाई ट्राफिक नियमहरुको जानकारी दिइने छ ।
उपत्यकाका उपर्युक्त चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरु बजाई ट्राफिक नियमको बारेमा जानकारी दिइने छ । ट्राफिक नियमबारे नागरिकलाई सूचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानाकारी गराए ।
विश्वका अन्य देशहरुमा जस्तो हाम्रो देशमा विद्यालय शिक्षामा ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम नसमेटिएको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो पहलमा विभिन्न कार्यक्रम गर्दै सचेतना फैलाइरहेको उनले बताए । ट्राफिक उज्यालो अभियान, जथाभाबी बाटो काट्नेलाई २० मिनेट कक्षा लिने अभियान, ठाउँ ठाउँमा सारङ्गी टोली घुमाउने र स्वयमसेवक समेत परिचालन गरी ट्राफिक नियमसम्बन्धी जनचेतना फलाउने काम भइरहेको उनले बताए ।
करिब १२ लाख सवारी रहेको उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि १५ सय ट्राफिक प्रहरी कार्यरत रहेका छन् । केही समयअघि जनचेतनामूलक सन्देश सहित ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक डमी राखिएको थियो । त्यो अभियानले सकारात्मक सन्देश दिएको ट्राफिक प्रहरीको भनाई छ ।