अन्तराष्ट्रिय

राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट विदा

0Shares

काठमाडौँ माघ ७: अमेरिकामा आज राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट विदा हुँदैछन् भने राष्ट्रपति निर्वाचित जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै छन्।ह्वाइट हाउस छोड्नु केही घन्टाअघि ट्रम्पले आफ्नो विदाइ सन्देश जारी गरेका छन्।अफिसको अन्तिम पूर्ण दिनको अन्त्यमा ट्रम्पले जारी गरेको रेकर्डेड भिडिओ सन्देशमा उनले आफू जे काम गर्न आएको थिएँ त्यो काम गरेको बताएका छन्।  ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइटहाउस छोड्ने बताइएको छ।

‘हामी जे गर्नका लागि यहाँ आएका थियौं, त्यो गर्‍यौं र अरू धेरै पनि गर्‍यौं,’ ट्रम्पले भने। सन्देशमा उनले नयाँ राष्ट्रपति आउन लागेको बताए तर जो बाइडेनको नाम लिएनन्। सुरूदेखि नै चुनावमा धाँधली भएको दाबी गर्दै आएका ट्रम्पले अहिलेसम्म बाइडेनलाई राष्ट्रपति निर्वाचित भनेका छैनन्।’यही साता नयाँ राष्ट्रपतिको सपथ हुँदैछ। हामी अमेरिकी जनतालाई सुरक्षित र समृद्ध राख्न नयाँ प्रशासनलाई सफलता मिलोस् भन्ने कामना गर्छौं,’ उनले भने,’उनीहरूलाई हाम्रो शुभेच्छा छ र  भाग्यले साथ देओस् भन्न चाहन्छौं।’ट्रम्पले आफ्नो परिवार, उपराष्ट्रपति माइक पेन्सको परिवार र अन्य कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे।’सबैभन्दा धेरै म अमेरिकी जनतालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने,’तपाईंहरूको राष्ट्रपतिका रूपमा काम गर्न पाउनु शब्दमा व्याख्या गर्न नसकिने सम्मान हो।’सन्देशमा ट्रम्पले जनवरी ६ मा संसद भवनमा भएको हिंसाबारे पनि उल्लेख गरेका छन्। उनले हिंसा कुनै पनि अर्थमा स्वीकार्न नसकिने बताए।

बाइडेनको जित प्रमाणिकरण गर्न सदनको संयुक्त बैठक बसिरहेका बेला ५ जनाको ज्यान जाने गरी भएको उक्त हिंसा भड्काउन ट्रम्पले उकासेको आरोप छ।ट्म्पले आफ्नो कार्यकालमा लिएका नीतिहरूको पनि बचाउ गरे। पछिल्ला दशकहरूमा कुनै नयाँ युद्ध सुरू नगर्ने राष्ट्रपति बनेकोमा आफूलाई गर्व भएको उनले बताए।’मैले सजिलो बाटो रोजिनँ, अहिलेसम्मको यात्रा निकै कठिन थियो,’ उनले भने।आफ्ना उत्तराधिकारीको सपथ समारोहमा भाग लिने परम्परा तोड्दै ट्रम्प ह्वाइट हाउसबाट बाहिरिने भएका छन्।  बुधबारको मध्यान्हमा नयाँ प्रशासनलाई सत्ता हस्तान्तरणको तयारी गरिरहँदा म तपाईंहरूलाई भन्न चाहन्छु-हामीले थालेको अभियान भर्खर सुरू भएको छ। यसभन्दा पहिला कहिल्यै यस्तो भए थिएन,’ उनले भने।लोकप्रिय नारा दिएर चार वर्षअघि ह्वाइट हाउस छिरेका ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोग प्रस्ताव भोग्ने पहिलो राष्ट्रपति हुन्।उनीविरूद्धको दोस्रो महाअभियोग माथिल्लो सदन सिनेटबाट पनि पारित भए उनी सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवार हुन पाउने छैनन्।

0Shares