राष्ट्रिय

शहीदको बलिदानको प्रतिफलमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने, प्रधानमन्त्री केपी शर्मा ओली

0Shares

काठमाण्डौ, माघ १६ :  प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताउनुभएको छ ।

शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उहाँले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको समेत बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उहाँको भनाइ छ । “सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ”, सन्देशमा उहाँले भन्नुभएको छ, “हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ । हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।”

लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा गरेकोसमेत उहाँले बताउनुभयो ।

जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उहाँको भनाइ रहेको छ ।

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ मा नेपाल आमाका वीर सपूत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुभएको थियो । बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरेका छौँ । सोही सङ्घर्षको भाव भूमिबाट जनसङ्घर्षको ज्वार उठेर विसं २००७ मा १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भएको थियो ।

0Shares