राष्ट्रिय

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणलाई तीब्रता

0Shares

काठमाडौ,फागुन १८: नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीब्रता दिएको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यको विवरण केन्द्रमा अद्यावधिक गर्ने काम अनलाइनबाटै भइरहेको छ। ७७ मध्ये ४८ जिल्लाका क्रियाशील सदस्यको विवरण अपडेट भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।। ‘४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली अपडेट हुँदैछ,’ पौडेलले सेतोपाटीसँग भने, ‘क्रियाशील संख्या धेरै भएका जिल्लामा त्यहाँका पार्टी सभापतिसँग समन्वय गरी प्रविधि हेर्ने साथीहरूले अपडेटको काम गरिरहनुभएको छ।’ १६५ संघीय निर्वाचन क्षेत्रसहित देशका २०७ ठाउँबाट क्रियाशील सदस्यको विवरण अनलाइनबाटै अपडेट गर्ने काम जारी रहेको उनले बताए।

प्रविधि प्रयोग गरी कांग्रेसले छिटो क्रियाशीलको विवरण अपडेट गर्न लागेको हो।मुख्यसचिव पौडेलका अनुसार अहिलेसम्म २ लाखभन्दा बढी क्रियाशील सदस्यको नामावली अनलाइनबाटै अपडेट गरिसकिएको छ।कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने बताएको छ। एक क्षेत्रमा चार जनासम्म प्रविधि हेर्ने साथीहरूलाई हामीले विवरण अद्यावधिक गर्न पासवर्ड दिएका छौं, उनले भने। यस्तै असारदेखि नै वडा तहमा अधिवेशन सुरू गर्ने कार्यतालिका यसअघि नै प्रकाशित भइसकेको छ।गाउँ/नगर अधिवेशन असार ५ गते तोकिएको छ। त्यसअघि नै क्रियाशील सदस्यताको काम सक्नुपर्छ किनभने वडाका मतदाता तिनै क्रियाशील सदस्य हुन्छन्।क्रियाशील सदस्यतामा विवाद आए केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा रहेको छानविन समितिले आवश्यक निर्णय गर्न सक्छ। कांग्रेसमा २०७२ मा भएको १३ औं महाधिवेशनमा करिब ५० हजार जनाले विवादका कारण क्रियाशील सदस्यता पाएका थिएनन्।पहिलेजस्तो विवाद नहोस् भनेर यसपटक सभापति शेरबहादुर देउवाले लेखकको नेतृत्वमा समिति बनाएका छन्। उक्त समितिले विवाद देखिएमा निरूपण गर्नेछ।चैत १० गतेभित्र क्रियाशील सदस्यता केन्द्रमा पठाइसक्न फागुन ६ मा बसेको केन्द्रीय समितिले निर्देशन दिएको थियो। त्यसमा उजुरी परेमा चैत २५ भित्र छानविन समितिमा उजुरी दिन सकिनेछ।क्रियाशील सदस्यको विवरणलाई सभापति देउवाले प्रमाणित गर्नुपर्ने हुन्छ। क्रियाशील सदस्यको नामावलीको अन्तिम सूची देउवाले जेठ २४ भित्र प्रमाणित गरिसक्नुपर्छ।कांग्रेसले क्रियाशील सदस्यता संख्या १० लाखभन्दा बढी बनाउने तयारी गरेको छ। १३ औं महाधिवेशनमा चार लाख ८० हजार क्रियाशील रहेकोमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापा लगायतबाट आएकालाई क्रियाशील दिएर अहिले करिब पाँच लाख हाराहारीमा कांग्रेसका क्रियाशील सदस्य छन्।कांग्रेसले शतप्रतिशत क्रियाशील वितरण गर्न सक्ने अधिकार वडा समितिहरूलाई दिएको थियो।समायोजन टुंगिन एक जिल्ला बाँकीकांग्रेसले निर्देशन दिए पनि सिन्धुपाल्चोकमा अझै समायोजनका काम टुंगिएको छैन।
सिन्धुपाल्चोक सभापति विकास लामाले यसअघि नै समायोजकको फाइल केन्द्रमा पठाए पनि विवाद उत्पन्न भएको थियो। राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिले अध्ययन गरेपछि केही दिनभित्र सिन्धुपाल्चोकमा उत्पन्न समायोजन विवाद पनि हल गर्ने कांग्रेसले जनाएको छ।मुख्यसचिव पौडेलले बारा र सप्तरीमा भने विवाद टुंगिएको बताए। एक/दुई दिनभित्र सिन्धुपाल्चोकको विवाद पनि हल हुन्छ, उनले भने। कांग्रेसले पुरानो संगठनलाई संघीय संरचनामा ढाल्न समायोजन गरेको हो।समायोजनका काम नसकिएका जिल्लामा कांग्रेसले क्रियाशील फारम पठाएको छैन।वडा पार्टीले क्रियाशील वितरण गर्ने र त्यसका लागि संगठन संरचना आवश्यक पर्ने भएकोले पहिले समायोजन टुंग्याउन कांग्रेसले भनेको थियो।

0Shares