आज पनि प्रदूषण स्थिर,घर बाहिर ननिस्कन सुझाब
काठमाडौ,चैत १६: मौसमी प्रणालीमा फेरबदल नआउँदा विगत तीनदिन जस्तै आज पनि प्रदूषणको मात्रा नघट्ने भएको हो । हावाको गति नबढ्ने र पानी नपरेसम्म उल्लेख्य मात्रामा प्रदूषण रहिरहने मौसमविद् बताउँछन् । “मौसमी प्रणालीमा परिवर्तन नआएसम्म र हावाको गति नबढेसम्म वायुमा प्रदूषणको मात्रा घट्दैन । आज अपराह्नपछि पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाले त्यहाँको प्रदूषण केही मात्रामा सिफ्ट होला कि भन्ने अनुमान छ,” मौसमविद् भन्छन्, “बाँकी ठाउँमा भोलि साँझसम्म प्रदूषण स्थिर नै रहने देखिन्छ । अहिलेसम्मको विश्लेषण हेर्दा भोलि साँझसम्म अहिलेकै मौसमी प्रणाली रहने भएकाले प्रदूषण पनि रहने छ । भोलि साँझबाट केही कम हुने सम्भावना छ ।”
पश्चिमी मौसमी प्रणाली उल्लेख्य मात्रामा भित्रिए पछि प्रदूषण केही कम हुने उनको भनाइ छ । काठमाडौंमा आज बिहान भिजिविलिटी (पारदर्शिता) १५ सय मिटर छ । यो दिउँसो एक हजार मिटरमा झर्न सक्ने तर यो केही समयका लागि दुई हजार २५ सयसम्म पनि पुग्न सक्ने अर्याल बताउँछन् । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि साधारणतया तीन हजारमाथिको भिजिविलिटी राम्रो मानिन्छ । डोमेस्टिकतर्फ १५०० मिटरभन्दा कम भिजिविलिटी सहज मानिँदैन । प्रि–मनसुनको समयमा पानी पर्न नसक्दा प्रदूषण वायुमण्डलको तल्ल सतहमा बस्ने गर्छ । दुई वर्ष अगाडि पनि यस्तो भएको मौसमविद् मञ्जु वासी बताउँछिन् । जाडो मौसममा पारदर्शिता ५० मिटरसम्म पनि हुन्छ तर, त्यो वायुमा पानीका कणहरु भएका कारण हुने र त्यसलाई कुहिरो अथवा सितलहर भनिने उनको भनाइ छ । सामान्य समयमा वायुको पारदर्शिता १० किलोमिटरभन्दा धेरै हुन्छ । विहान वायुको पारदर्शिता कम हुनुको कारण वायुमा पानीको कण भएकाले हो । तर, दिउँसो भने प्रदूणका कारण हुने मौसमविद् मञ्जुको भनाइ छ । “काठमाडौं उपत्यका भएकाले माथिल्लो वायुमण्डलले तल्लो वायु मण्डललाई असर गरिरहेको हुन्छ । माथिल्लो भागमा मोस्चर छ तर तल्लो भागमा छैन । त्यसैले तलको हावा माथि जान पाउँदैन । त्यसैले तलको हावा तलै हरनुपर्दा काठमाडौंमा अहिलेको अवस्था आएको हो,” उनी भन्छिन्, “काठमाडौं उपत्यका बाहिर पनि अहिले भिजिविलिटी न्यून नै रहेको छ ।”प्रि–मनसुनमा पानी नपर्दा हावामा प्रदूषणको मात्रा उच्च भएको वातावरण विभागले बताएको छ । अहिले हावामा धुलोभन्दा पनि धुवाँको मात्रा धेरै रहेको वातावरण विभागका उप–महानिर्देशक तथा प्रवक्ता इन्दू विक्रम जोशी बताउँछन् । देशका धेरै ठाउँमा डडेलो लागिरहेका कारण त्यसको धुँवा हावामा मिसिँदा प्रदूषण धेरै भएको उनको भनाइ छ । यही कारण अहिले धेरैले आँखा पोलिरहेको अनुभूत गरिहेको बताउँछन् । काठमाडौंमा डिजेल, मट्टीलेत, प्लाष्टिक बाल्ने तथा धेरै सवारी साधनको प्रयोगका कारण वर्सेनि यो समस्या झेल्नु परेको छ । प्रि–मनसुनको अवधिभर १० प्रतिशत मात्रै कम सवारी साधन चलाउन सके वायु प्रदूषण कम हुने उनी बताउँछन् ।