राष्ट्रिय

मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरू

0Shares

काठमाडौ,वैशाख ७ : वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरू भएको छ । रथयात्राका लागि आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलबाट देवताको खट दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिने छ। कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर रथयात्रा गर्न लागिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ।जात्राका लागि काठमाण्डौ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्थासमेत मिलाइएको छ ।गएको बिहीवार काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छिन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी रथयात्रा गर्ने निर्णय गरेको थियो।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ। सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा हुने गर्छ । असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्रबहाल लगरेर अन्त्य गर्ने चलन छ । यस्तै असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।गएको वर्ष कोरोना महामारीबाट बच्न लकडाउन गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो ।हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरमा रहेको कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ।

0Shares