राष्ट्रिय

कोरोना बीमा बन्द

0Shares

काठमाडौ,वैशाख १३: बीमा समितिले कोरोना बीमा बन्द गर्ने भएको छ । समितिले आउँदो असार मसान्तदेखि कोरोना बीमा बन्द गर्ने भएको हो ।पछिल्लो समय कोरोना संक्रमितको संख्या पनि दैनिक तीन हजारकाे हाराहारीमा पुग्न थालेका छन् । त्यसअनुसार अझै कोरोना बीमाको दाबी बढने देखिन्छ । कोरोना बीमाको दाबी बढ्दै जादाँ सरकारलाई आर्थिक भार पर्ने भन्दै कोरोना बीमा बन्द गर्ने तयारी भएको हो ।केहि समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बीमा बन्द गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । सरकारले निशुल्क उपचार र खोप वितरण गरिरहेकाले कोरोना बीमा आवश्यक नभएकोले बन्द गर्नुपर्ने उनको बुझाई थियो । त्यसले पनि सरकार कोरोना बीमा दायित्वबाट पन्छिन खोजेको प्रष्ट हुन्छ ।

यता बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने पाइलट प्रोजेक्टको रुपमा एक वर्षको लागि संचालनमा ल्याएको हुनाले बन्द गर्न लागेको बताउछन् ।अगामी असार मसान्तदेखि कोरोना बीमा बन्द गर्ने तयारी भएको उनले बताए । ‘हामीले कोरोना बीमा पाइलट प्रोजेक्टको रुपमा एक वर्षको लागि संचालनमा ल्याएका हौं । त्यसैले यो बीमा योजना साउनदेखि बन्द हुन्छ,’ उनले भने । अहिले बीमा गरेपनि असारसम्म मात्रै बीमालेख कायम हुने उनको भनाई छ ।यस्तै बीमक संघका महासचिव चंकि क्षेत्रीले पनि सरकारकै निर्देशन अनुसार कोराना बीमा बन्द हुने तयारी भइरहेको जानकारी गराए ।कोरोना बीमामा दाबी भुक्तानीको दायित्व सरकारकाे थप्लोमा आइसकेको छ । कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनी, पुर्नबीमा कम्पनी र बीमा समितिको दायित्व सकिएपछि सरकारमा सरेको हो ।

मापदण्ड अनुसार पहिलो एक अर्ब रुपैयाँसम्मको जोखिम बीमा कम्पनीले, दोस्रोमा १ अर्बको पुर्नबीमा कम्पनी र तेस्रोमा थप ५० करोड रुपैयाँको दायित्व बीमा कम्पनीहरुमा रहेको महाविपत्ती कोषको रकमबाट खर्च हुने र चौथौं चरणमा १ अर्बको दायित्व बीमा समितिले व्योर्होने व्यवस्था छ ।त्यस अनुसार बीमा कम्पनी, पुर्नबीमा कम्पनी र बीमा समिति कोरोना बीमाको दायित्वबाट पन्छिसकेका छन् । अर्थात उनीहरुले आफ्नो दायित्वमा पर्न आउने ४ अर्ब ५० करोड रुपैयाँ रुपैयाँ भुक्तानी गरिसकेका छन् ।अब कोरोना बीमा वापत पर्न आउने सबै दाबी रकम सरकारी कोषबाट भुक्तानी गर्नुपर्ने हुन्छ । चैत ३० गते सम्मका कोरोना बीमा वापत ५ अर्ब ८५ करोड रुपैयाँ भुक्तानी गरेको छ । त्यसमध्ये ४ अर्ब ५० करोड रुपैयाँ बीमा कम्पनी, पुर्नबीमा कम्पनी र बीमा समितिबाट भुक्तानी भएको छ । त्यस अनुसार सरकारले १ अर्ब ३५ करोड रुपैयाँ कोरोना बीमा बापत भुक्तानी गरिसकेको पाइन्छ ।

0Shares