राष्ट्रिय

नेपाल टेलिकमले ल्यायो धन्यवाद स्वास्थ्यकर्मी’ अफर

0Shares

काठमाडौ,जेठ ११ : नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध फ्रन्टलाइनमा बिरामीको सेवामा समर्पित चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्न यो अफर ल्याउन लागेको टेलिकमले जनाएको छ । यससम्बन्धी सम्झौतामा आइतबार टेलिकम र नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिष्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्बीच हस्ताक्षर भएको छ । यस अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेका आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड÷प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने टेलिकमले जनाएको छ । स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गर्न सक्नेछन् । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहने टेलिकमले जनाएको छ ।
स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरु (नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिष्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्)ले आफ्नो लेटरहेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपश्चात् यो अफर उपलब्ध गराइने टेलिकमले जनाएको छ । नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने पनि जनाइएको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिने यो अफरको समयावधि कोरोना महामारीको अवस्था हेरी थप गर्न सकिने टेलिकमले जनाएको छ ।

0Shares