गोरखामा जेठ २५ सम्म लम्बियो निषेधाज्ञा
काठमाडौ,जेठ १५ : गोरखामा शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । यसअघि निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको थियो । यसअघिको निषेधाज्ञामा निर्माण सामग्री बोकेका सवारी साधन रातिको समयमा मात्र चल्न पाउने व्यवस्था गरिएको थियो । अब भने दिउँसो चल्न पाउने बनाइएको प्रमुख जिल्ला अधिकारीले बताए ।
सवारीमा चालक र सहचालक गरी दुई जना मात्र बस्न पाउने उनले जानकारी दिए । त्यस्तै बैठकले खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य पसलहरु, निर्माण सामग्री वितरण गर्ने पसलहरु र वर्कसप बिहान ५ देखि ९ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । दर्तावाला व्यवसायीले मात्र बाहिरी जिल्लाबाट तरकारी र फलफुल ढुवानी गर्न पाउने छन् ।