राष्ट्रिय

एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

0Shares

काठमाडौ,जेठ २० : नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि बुधबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यसपछि बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइए पनि फेरि स्थगित भएको हो । संस्थापन पक्षका एक नेताका अनुसार माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक बसिरहेको र त्यहाँ हुने छलफलका आधारमा स्थायी कमिटी बैठक बस्ने छ ।
संस्थापन पक्षले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि एमालेको आन्तरिक विवाद विभाजनउन्मुख बनेको छ । त्यसपछि नेपालले आफूलाई ओलीविरुद्ध विपक्षी गठबन्धनमा उभाएका छन् । शीर्ष नेताहरुसँग एकताको सम्भावना कमजोर रहेको निष्कर्ष समेत निकालेको संस्थापनपक्ष सकेसम्म धेरै भन्दा धेरै नेता कार्यकर्ता आफ्नै समूहमा राख्ने योजनामा छ । त्यसैले दोस्रो तहका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित १२ जना तत्कालीन सांसदलाई स्पष्टिकरण सोधेपनि उनीहरुमाथि कारबाही रोकिएको छ । २ जेठमा फर्कने वा फागुन २३ पछिका निर्णय कार्यान्वयन गरेर जाने भन्नेमा एमालेमा विवाद छ । एकतालाई बचाइराख्‍न केही दिन यता दोस्रो तहका नेताहरुको संवादमा जुटेका छन् । पछिल्ला अनौपचारिक छलफलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ फर्कन सकरात्मक बनेको बताइएको छ ।

0Shares