राष्ट्रिय

तेस्रो लहर नियन्त्रण गर्न कार्ययोजना

0Shares

काठमाडौ,असार २५: जिल्ला कोभिड व्यवस्थापन समिति सुर्खेतले सम्भावित कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्‍याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न कर्णाली प्रदेशमै जिल्लाले पहिलोपटक कार्ययोजना तयार गरेको हो । कार्ययोजनामा कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट योजना बनाइएको छ ।
चिकित्सक, नर्स र पारामेडिक्सको चार-चार जनाको टोली चौबिसै घण्टा तयारी अवस्थामा रहने र त्यसको व्यवस्थापन स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने तोकिएको छ । तेस्रो लहरबाट बालबालिका बढी जोखिम हुने भनिएकाले प्रदेश अस्पतालमा बालबालिकाका लागि चार वटा भेन्टिलेटर, १० वटा एचडियु बेडलगायत औषधि, उपकरण तयारी अवस्थामा राख्न प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने भनिएको छ ।आगामी एक महिनाभित्र आवश्यक औषधि खरिद गरिसक्नुपर्ने, रेम्डिसिभिर औषधिको कमी भएकाले एकैपटक कम्तीमा ३०० जनालाई पुग्ने गरी व्यवस्था गर्नुपर्ने, प्लाज्माथेरापीको व्यवस्था सुर्खेतमै गर्नुपर्ने र कम्तीमा ६०० अक्सिजन सिलिण्डर व्यवस्थापन गर्नुपर्ने भनिएको छ । साथै सुर्खेत जिल्ला बाहिर एउटा अक्सिजन फिलिङ प्लान्ट स्थापना गर्नुपर्ने, प्रदेश अस्पतालमा थप एउटा प्लान्ट बनाउनुपर्ने, टोलमै पिसिआर स्वाब लिने व्यवस्था मिलाउनुपर्ने, एम्बुलेन्स तथा शववाहन तयारी अवस्थामा राख्नुका साथै चालकलाई स्वास्थ्य सुरक्षा सावधानीबारे सचेत गराउनुपर्ने कार्ययोजनामा समेटिएको छ ।

0Shares