पुंजीबजार

धितोपत्र कारोबारमा साउन ३ गतेदेखि नयाँ व्यवस्था लागू हुँदै

0Shares

काठमाडौ,साउन १: धितोपत्र कारोबारमा साउन ३ गतेदेखि दुई वटा नयाँ व्यवस्था लागू हुँदैछ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले संशोधित धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली, २०७८ को व्यवस्था बमोजिम प्रारम्भिक कारोबार सत्रको मूल्य सीमा र धितोपत्र कारोबारमा न्यूनतम मूल्य परिवर्तनको सीमा घटाएर लागू गर्न लागेको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्न भन्दै हाल ५ प्रतिशत रहेको मूल्य परिवर्तनको सीमा दुई प्रतिशतमा झारेको हो ।उक्त व्यवस्थाले प्रारम्भिक कारोबार सत्रमा दुई प्रतिशतसम्म घटबढ गरेर मात्र शेयर कारोबार गर्न सकिनेछ । यो व्यवस्थाले प्रारम्भिक कारोबार सत्रमा अस्वभाविक रुपमा धितोपत्रको मूल्यमा भैरहेको उतारचढाबलाई कम गर्ने विश्वास बोर्डको छ ।धितोपत्र बजारमा विहान १०:३० बजेदेखि १०:४५ बजेसम्मको १५ मिनेट प्रारम्भिक कारोबार हुने गरेको छ । यस अघि ५ प्रतिशतसम्म घटबढ गरेर प्रारम्भिक सत्रमा कारोबार गर्न सकिने व्यवस्था थियो । प्राम्भिक कारोबारको आधारमा ११ बजेदेखि धितोपत्र बजारको नियमित कारोबार शुरु हुने गर्दछ ।त्यस्तै धितोपत्र कारोबार हुँदा हाल कायम रहेको न्यूनतम एक रूपैयाँको सीमालाई घटाएर १० पैसामा झारिएको छ । बोर्डले छिमेकी देश लगायत अन्तरराष्ट्रिय असल अभ्यासलाई ध्यानमा पैसामा समेत शेयर खरीदविक्री आदेश दिन सकिने व्यवस्था गरेको हो ।

0Shares