पुंजीबजार

शेयर बजार मंगलबार केही सुस्त

0Shares

काठमाडौ,साउन ५: शेयर बजार मंगलबार केही सुस्त भएको छ । सूचकका साथमा टर्नओभर पनि सामान्य कम भएको हो । साताको पहिलो दिन सूचक ९७ अंकभन्दा बढीले माथि लागेको थियो । सोमबार पनि बजार १३.९७ अंकले बढेको थियो । यस आधारमा २ दिनमै बजार १११ अंकले बढेको थियो । यसआधारमा मंगलबार थोरै करेक्सन आउनुलाई बजारको सामान्य प्रवृत्ति मानिएको छ । बजार करेक्सन हुँदै अघि बढ्दा थप सबल हुने विश्लेषकहरु बताउँछन् ।  सेयर बजार यस दिन केही अस्थिर पनि देखियो । बजारले निश्चित गति समाउन  नसक्दा सूचक छिनछिनमै तलमाथि गर्ने प्रवृत्ति हावी भएको हो । कारोबार अवधिभर नेप्से छिनमै हरियो हुने अनि फेरि एकैछिनमा रातो हुने प्रवृत्ति देखियो । बजार निरन्तर बढ्ने वा घट्ने मात्र गर्दैन । तलमाथि गर्दै अघि बढ्छ ।

यही मान्यता अनुसार नाफा बुक गर्नेहरु सक्रिय हुँदा सामान्य करेक्सन आएको अनुमान गरिएको छ । केही भाउ सस्तो हुने बित्तिकै क्रेताहरु पनि उत्तिकै सक्रिय हुने गर्छन् । यतिबेला वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर पनि सस्तो छ । सजिलै सेयर धितो कर्जा पाइन्छ ।यसर्थ, बजारको औसत गति माथितिरै हुने विश्लेषण गर्न सकिन्छ । साउन लागिसकेको छ । सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउनेक्रम पनि सुरु भएको छ । कोरोना महामाहारीका बाबजुत पनि सूचीकृत कम्पनीहरुले राम्रै नाफा आर्जन गरेको अनुमान गरिएको छ ।  वित्तीय विवरण सार्वजनिक गरेपछि लाभांश वितरणको समय आउनेछ । यसकारण पनि असार, साउन तथा भदौलाई सेयर बजारको मुख्य सिजनका रुपमा लिने गरिन्छ । यतिबेला सेयर होल्ड गर्न सके छिटो लाभांशको हकदार हुन सकिनेछ । यसर्थ, लगानीकर्ताहरुले बलियो वित्तीय सूचक भएका कम्पनी छानेर लगानी योजना तय गर्नुपर्छ । कम्पनीका आधारभूत सूचकहरु अध्ययन गर्नुपर्छ ।  नेप्से सूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा अडिएको छ । मंगलबार ७ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । ३८ करोड ७८ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण काबेली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र नेपाल इन्सुरेन्स परेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको भाउ १०% ले वृद्धि भएको छ । 

0Shares