ओलम्पिकको औपचारिक रूपमा उद्घाटन आज
काठमाडौ,साउन ८: खेलकुदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रूपमा उद्घाटन आज हुँदै छ। जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबिच ओलम्पिकको अपराह्न ४ बजेर ४५ मिनेटमा उद्घाटन हुनेछ।उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधवारदेखि नै सुरु भइसकेको छ। ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन्। नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ।
उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा पौडीकी कीर्तिमानी खेलाडी गौरीका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नेछिन्। सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो। दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ।