नेपाल टि-२० वरीयतामा सुधार
काठमाडौ,साउन ११: नेपालले टेस्ट टोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० वरीयतामा सुधार गरेको छ । आइतबार आइसिसीले गरेको नयाँ अपडेटमा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ ।नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक छ । आइतबारनै दक्षिण अफ्रिकासँग तीन टि२० आई सिरिजमा क्लिनस्विप बेहोरेपछि आयरल्यान्ड १३ औं स्थानमा झरेको छ ।
१३ औं स्थानमा रहेको आयरल्यान्डको २१ खेलमा १ सय ७८ रेटिङ अंक भएपनि नेपालभन्दा पछि छ । आयरल्यान्डले दक्षिण अफ्रिकासँग पहिलो टि२० खेलमा ३३ रन, दोस्रो खेलमा ४२ रन र तेस्रो खेलमा ४९ रनको हार बेहोरेको थियो ।नेपाल एसोसियटतर्फबाट टि२० वरीयतामा अग्रस्थानमा छ । नेपालभन्दा अघि ११ औं स्थानमा जिम्बावे र १० औं स्थानमा बंगलादेश छन् । इंग्ल्यान्ड शीष, भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र पाकिस्तान चौथो स्थानमा छ । अष्ट्रेलिया पाँचौं, दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं र श्रीलंका नवौं स्थानमा छन् । टि२० आई वरीयतामा नेपालभन्दापछि स्कटल्यान्ड १४ औं, यूएई १५ औं, पपुवा न्युगिनी १६ र नेदरल्यान्ड १७ औं स्थानमा छ । सर्बिया ८२ औं स्थानमा रहँदै पुछारमा छ ।नेपाल ओडिआईमा भने १६ औं स्थानमा यथावत छ । नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदानमा नेदरल्यान्ड र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्दै उपाधि जितेको थियो । पछिल्लो चार महिना कुनै टि२० आई खेल नखेलेपनि नेपाल आयरल्यान्डको हारको कारण सुधार गरेको हो । नेपालको टि२० आईमा उत्कृष्ट वरियता ११ औं स्थान छ । नेपाल २०१९ मा केहि समय टि२० आई वरीयतामा ११ औं स्थानमा रहेको थियो ।