राष्ट्रिय

कोरोनाको सर्तकताः प्रदेश ५ सरकारको तयारी यस्तो छ

0Shares

प्रदेश ५ सरकारले कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि पूर्व तयारी शुरु गरेको जनाएको छ । प्रदेशमा रहेका स्वास्थ्यका कार्यालयहरुसँग पूर्व तयारीका लागि बैठक छलफलसँगै कामलाई तीब्रता दिएको प्रदेश सरकारको भनाई छ ।


कोही शंकास्पद बिरामी भेटिए सार्वजनिक यातायात वा अन्य गाडी नभई केहि सम्पर्क स्थानसहित बिशेष एम्बुलेन्स तयारी अवस्थामा राख्नेगरी कामको तयारी अघि बढाइएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले प्रदेश सरकारले तीन वटै तहको सरकारको समन्वयमा कोरोना बिरुद्दको काममा अघि बढ्ने गरी छलफल र कामलाईसँगै अघि बढाएको बताए । उनले प्रदेश सरकारले अस्पतालहरुमा आइसोलेसन कक्षको व्यवस्थापनका लागि प्राथमिकता दिइ काम गरिरहेको बताए । सीमा क्षेत्रमा भने स्थानीय सरकारले हेल्प डेक्समार्फत चेक जाँचलाई तीब्र पारेको बताए । उनले कोरोनाको चेक जाँचका लागि थर्मो स्केल र स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) को व्यवस्थापनको तयारी गरेको जानकारी दिए । स्वास्थ्य निर्देशनालयमा अहिले २ वटा प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) रहेको उनको भनाइ छ ।


निर्देशनालयका अनुसार आइसोलेसन सहित उपचारको प्रबन्ध सहित फोकल पर्सन तोक्नका लागि प्रदेशका १४ वटा सरकारी र ४ वटा मेडिकल कलेजहरुलाई निर्देशन दिइसकेको छ । स्वास्थ्य निर्देशनालयकी फोकल पर्सन डा. सबु काफ्लेका अनुसार मंगलबारसम्म प्रदेशका ८ वटा अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिसकेका छन् । ति अस्पतालले पत्रमार्फत फोकल पर्सनको नामावली सहित आइसोलेसन कक्षको व्यवस्था गरेको जानकारी पठाएको डा. काफ्लेले जानकारी दिईन् । विवरण पठाउनेमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर, देवदह मेडिकल कलेज, देवदह छन् । त्यसैगरी यूनिभर्सल मेडिकल कलेज, भैरहवा, लुम्बिनी मेडिकल कलेज, पाल्पा, यूनाइटेड मिसन अस्पताल, तानसेन र भेरी अस्पतालले पनि निर्देशनालयमा विवरण पठाएका छन् ।

निर्देशनालयका ल्याब टेक्निसियन गोपाल गौतमले थर्मो स्केल किन्नका लागि मन्त्री सुदर्शन बरालले निर्देशन दिइसकेको जानकारी गराए । तर थर्मो स्केल कस्ले किन्ने र कसरी किन्ने ? भन्ने बिषयमा भने टुङ्गो लाइसकेको छैन् । उनले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट आएको ५ वटा स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रमा राखिएको बताए । यससँगै प्रदेश ५ मा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिइको संख्या ७ पुगेको छ ।

प्रदेश ५ सरकारले कोरोनाको जोखिम नियन्त्रणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नका लागि आग्रह गरेको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाका संक्रमित र शंकास्पद बिरामी भेटिए नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एम्बुलेन्स प्रयोग गर्ने गरी काम अघि बढेको बताए । एम्बुलेन्स चालकलाई प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) पोशाक लगाएको हुने, त्यसका लागि सम्पर्क नम्बर सार्वजनिक गर्न लागिएको मन्त्री बरालले जानकारी दिए । उनका अनुसार प्रदेश ५ मा संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, डब्लुएचओ, यूनिसेफको संयुक्त टोली परिचालन भइसकेको छ । उलने टोलीले बेलहिया, कृष्णनगर र रुपेडिहिया सीमा नाकाको आवागमनका साथै केही अस्पतालहरुको स्थलगत अध्ययन गरिरहेको बताए । मन्त्री बरालले के कसरी जाने ? भन्ने बिषयमा शुक्रबार २३ गते नागरिक समाज, उद्योगी व्यवशायीहरु, नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, बृहत भेला गर्न लागेको बताए ।

डव्लुएचओले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेसँगै प्रदेश सरकारले पूर्वतयारी अपनाउन शुरु गरेको हो । बुटवल टुडेमा प्रकाशित समाचार

0Shares