जुम्लाको मार्सी चामल र सिमी जापानमा खान पाइने
काठमाडौ,फागुन १६: नेपालको हिमाल पारीको जील्ला जुम्लाको मार्सी चामल र सिमी जापानमा खान पाइने भएको छ। जुम्ला घर अर्गानिक्सएण्ड सुपरफूडका सञ्चालक राज शाहीले व्यवसायिक रुपमा कर्णालीका खाद्यान्न जापान पठाएका हुन्। पहिलो पटक ठूलो परिमाणमा कर्णालीका खाद्यान्न जापान पुगेको उनी बताउँछन्। राजका अनुसार १ टन सिमीको दाल, १ टन दाना सिमी, १ टन मासको दाल र १० किलो स्याउको चाना जापानी बजारमा पुगेको हो।
कर्णालीका उत्पादनले विस्तारै अन्तर्राष्ट्रिय बजार पाउन थालेकोमा उनले खुशी व्यक्त गरे। उपहार र कोसेलीको रूपमा पहिले पनि जापान पुगेको थियो होला तर व्यावसायिक हिसाबले पहिलो पटक हो, उनले भने, ‘यसले व्यवसायमा अझै उत्साह थपेको छ।’राजधानी टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठले सो परिमाणका सामान माग गरेका हुन्। जुम्ला घर अग्र्यानिक्सबारे नेपाली सञ्चार माध्यममा आएका समाचार पढेर जापानबाट माग आएको राज बताउँछन्। उनले भने अहीले जापानको राजधानी टोकियोमा मात्रै उपलब्ध छ। अब हामी जापानको अन्य सिटीमा पनी पठाउने तयारी भईरहेको जनाउनुभयो। ‘संचार माध्यमबाट हाम्रोबारे थाहा पाएरै जापानबाट अर्डर आएको हो। त्यहाँ नेपाली सिमि प्याकिङ र ब्राण्डिङ गरेर बिक्री हुनेछ,’ उनले भने। शाहीले क्यानडामा पनि २० टन जुम्ली उत्पादन पठाउने तयारी गरेका छन्। १५ टन मार्सी, ४ टन सिमी, हरियो केराउ र कोदो गरेर १ टन क्यानडामा माग भएको उनले बताए।
क्यानडास्थित लायम फुड कर्पोरेसनका डा. पूर्ण कँडेलको समन्वयमा जुम्लाको मार्सी र सिमी निर्यात हुने भएको हो। कम्पनीले वाइवाइ चाउचाउ र चिया पनि ब्यापार गर्दै आएको छ।