राष्ट्रिय

नरदेवी अस्पताल सुधार हुँदै

0Shares

 मुलुककै जेठो वीर अस्पताल र भक्तपुर अस्पतालपछि स्थापना भएको नरदेवी आयुर्वेदिक चिकित्सालयमा पछिल्लो समय सुधारका संकेतहरु देखिएका छन् ।

आयुर्वेदिक उपचारमा केन्द्रीय अस्पतालको रुपमा रहेको अस्पताल धेरै वर्ष नाजुक अवस्थाबाट गुज्रिएको हो ।

सफा वातावरण, व्यवस्थित पार्किङ, सहजैै उपचारको व्यवस्था नरदेवी अस्पतालको पछिल्लो परिचय बन्न थालेको छ ।

१०० वर्षको इतिहास बोकेको यो अस्पताल लामो समयको लथालिंग अवस्थाबाट तंग्रिन थालेको अनुभूति हुन थालेको छ ।

डा. प्रदीप केसीले अस्पतालको नेतृत्व सम्हालेपछि अस्पतालमा सुधारको अभियान चलाइएको थियो ।

फोहोर तथा ढल व्यवस्थापनबाट सुरु गरिएको अभियान अहिले बिरामीको व्यवस्थित उपचारसम्म पुगेको छ ।

स्वास्थ्य मन्त्रालयसँग दुई करोड रुपैयाँ लिएर सुधारको अभियान सुरु गरेको डा. केसी बताउँछन् ।

निःशुल्करुपमा आयुर्वेदिक उपचार पाइने यस अस्पतालको जनरल वार्डमा १०० शय्या र १८ ओटा विशेष कक्ष रहेका छन् । एउटा शल्यक्रिया कक्षसमेत रहेको छ ।

१२५ जना कर्मचारी रहेको यस अस्पतालमा चारजना चिकित्सकको दरबन्दी अहिले पनि अपुग छ ।

यस्तै, स्पाइनल एनेस्थेसियासहितको शल्यक्रिया कक्ष, विशेषज्ञ अकुपन्चर सेवा, स्त्री प्रसूति सेवा, बालरोग उपचार सेवा भने छैनन् ।

२४ ओटा औषधि आफैंले उत्पादन गर्दै आएको यस अस्पतालमा औषधि उत्पादन गर्ने मसिनको पनि अभाव रहेको छ ।

अहिले पनि अस्पतालमा काम गर्ने डाक्टरहरुले आफ्ना निजी क्लिनिकमा पुर्‍याउने प्रवृत्ति रहेको बुझिएको छ ।

निजी क्लिनिकमा बिरामी लगेर उपचार र महँगो औषधि भिडाएर बेइमानी गर्नेहरुलाई नियन्त्रण गर्न सक्ने हो भने नरदेवी अस्पताल वैकल्पिक उपचारको भरपर्दो गन्तव्य बन्न सक्छ भन्ने आशाका किरण देखिएका छन् ।

Source: Imagekhabar.com

0Shares