राष्ट्रिय

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषित सबै कार्यक्रम रद्द गर्यो

0Shares

काठमाडौ,असार ३१: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषित सबै कार्यक्रम रद्द गरेको छ। आयोगले प्रतिनिधि सभा पुरस्थापना गर्ने सर्वोच्चको निर्णयसँगै प्रतिनिधि सभाको २६ कार्तिक र ३ मङ्सिरका लागि घोषित निर्वाचनको सबै कार्यक्रम रद्द गरेको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्च अदालतको फैसला अनुसार आयोगले निर्वाचनका सबै कार्यक्रम स्थगित गरेको जानकारी दिए।
उनका अनुसार निर्वाचन कार्यक्रम रद्द भएसँगै अब आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने तयारी गरेको छ । सो बारे आयोग बैठकले निर्णय गर्ने छ। ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कार्तिक २६ गते शुक्रवारका दिन पहिलो चरणमा र मङ्सिर ३ गते शुक्रवारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्य तालिका रद्द गर्ने निर्णय भएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। सरकारको सो सिफारिसलाई राष्ट्रपति कार्यालयले सदर गरिदिएको थियो।

0Shares