नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन
काठमाडौ,असार २३: नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल समूहले माओवादी केन्द्र खारेजीको माग गरेको हो ।
९ वर्षदेखि महाधिवेशन नगरेको माओवादीको कमिटीले गरेको कारबाही वैध हुन नसक्ने र माओवादी केन्द्र आफैँमा अवैध रहेको उनीहरूको दाबी छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता भएको बताए ।’निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दर्ता भएको छ । आयोगले त्यसबारे आवश्यक जाँचबुझ गर्छ,’ उनले भने ।बुधबार आयोगको कार्यालयमा लीलबहादुर थापासहितका नेताहरू निवेदन लिएर पुगेका थिए । सर्वोच्च अदालते २३ फागुन २०७७ मा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु शाह एमालेमा प्रवेश गरेसँगै उनीहरूको सांसद पद गुमेको थियो । मणि थापासहित २३ जना माओवादीबाट एमालेमा प्रवेश गरेका थिए ।