राष्ट्रिय

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध हटाउँदै

0Shares

काठमाडौ,फागुन ९: सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउँदै वार्ता आह्‍वानको तयारी गरेको छ । आफ्ना विरोधीहरुलाई केही न केही चक्मा दिने उद्धेश्यले उनले विप्लवलाई सरकारमा ल्याउने गरी छलफल थालेका हुन् ।
विप्लवको विज्ञप्तिपछि प्रधानमन्त्री र गृहमन्त्रीले चासो दिएको र वार्ताका लागि सकारात्मक रुपमा अघि बढ्ने संकेत गरेको गृहमन्त्री निकट स्रोतले बतायो । यसबारे गृहले आन्तरिक गृहकार्य सुरु गरेको बताइएको छ ।सर्वोच्च अदालतबाट संसद विघटनको पक्षमा फैसला हुने नभए आफूहरु आन्दोलनमा जाने संकेत गरेका ओलीले पूर्व एमालेहरु एक ठाउँमा हुने भन्दै अर्को समूहमा रहेकाहरुलाई आफूतिर आकर्षित गर्ने र भूमिगत रुपमा रहेको विप्लव समूहलाई वार्तामा ल्याएर सरकारमा समेत सहभागी गराउने गरी विरोधीका लागि कार्ड फ्याँकेका हुन् ।
शनिबार बिहान प्रधानमन्त्री ओलीका विश्वासपात्र रहेका गोकुल बाँस्कोटाले शनिबार केही नयाँ हुन्छ भन्ने संकेत गरेका थिए ।गृहमन्त्रीनिकट स्रोतले भन्यो, “सम्भवतः छिटै विप्लव समूहमाथिको प्रतिबन्ध हट्छ । गृहमन्त्रीज्यूले क्याबिनेटमा प्रस्ताव लैजाने कुरा छ । प्रतिबन्ध हटाएर वार्ताको वातावरण बनाउने र अरु कुरा संवादमार्फत अघि बढाउने कुरामा प्रधानमन्त्री र गृहमन्त्री दुवै सकारात्मक हुनुहुन्छ । ”विप्लवनिकट स्रोतका अनुसार सरकारले वार्ता टोली गठन गरेपछि आफूहरुले कसको नेतृत्वमा समिति गठन गर्ने भन्नेबारे टुंगो लाग्ने बताए । मन्त्री वा ओली समूहका शीर्ष नेताहरुको नेतृत्वमा वार्ता समिति गठन गरे विप्लव समूहको नेतृत्व खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गर्नेछन् । सरकारले तल्लो तहको वार्ता समिति गठन गरेको अवस्थामा प्रकाण्डबाहेकको टोली बन्ने बताइएको छ ।
ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि विप्लव समूह वार्तामा बस्न तयार भए आवश्यक वातावरण बनाउने जानकारी दिए । उनले भने, “उहाँहरू शान्तिपूर्ण धारमा आउन चाहेमा सरकारले आवश्यक सबै वातावरण मिलाउँछ ।”

0Shares