खेलकुद

नेदरल्यान्ड्सले हरायो मलेसियालाई

0Shares

काठमाडौ,वैशाख ५: नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा मलेसियालाई पराजित गरेको छ । मलेसियालाई १५ रनले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित हासिल गरेको हो ।नेदरल्यान्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो ।मलेसियाका लागि वीरनदीप सिंहले अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ६ चौका र ६ छक्कासहित ८७ रन बनाए । शर्विन मुनिंदीले २० बलमा चार चौका र एक छक्कासहित २८ रन जोडे । अमिनुदीन राम्लीले १५ बलमा दुई चौका र दुई छक्कासहित २६ रनको योगदान गरे ।
यसअघि, टस जितेर पहिले ब्यटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । नेदल्यान्ड्सका लागि म्याक्स ओ’डोडले शतक प्रहार गरे । उनी ७३ बलमा १५ चौका र ६ छक्कासहित १३३ रनमा अविजित रहे । बेन कुपर २० बलमा दुई चौकासहित २० रनमा अविजित रहे ।दोस्रो ओभरको पहिलो बलमा टोबियस भिसेलाई पवनदीप सिंहले एक रनमै बोल्ड गर्दै मलेसियालाई पहिलो सफलता दिलाएका थिए । आठौँ ओभरको तेस्रो बलमा स्कर्ट एडवार्डसलाई अनवर रहमानले ३१ रनमा एलबीडब्लू आउट गर्दै मलेसियालाई दोस्रो सफलता दिलाए । एडवार्डसले २३ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।प्रतियोगिताको तेस्रो खेलमा भोलि नेपालले मलेसियासँग खेल्नेछ । यस्तै, नेपालले नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेलमा वैशाख ९ गते मलेसियासँग खेल्नेछ । सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

0Shares