पुंजीबजार

ब्रोकर शुल्क घटाउने तयारी

0Shares

काठमाडौ,असार २६ : सेयर कारोबार गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने शुल्क बढी भएको भन्दै नेपाल धितोपत्र बोर्डले शुल्क घटाउने अध्ययन शुरु गरेको छ । बजारमा कारोबार रकम बढेको अवस्थामा हालको ब्रोकर शुल्क महँगो भएकाले कसरी कम गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । यसअघि कारोबार रकममा पनि उल्लेख्य सुधार भएका बेला त्यसबारे अध्ययन थालिएको हो,’ उनले भने, ‘पछिल्ला केही दिनयता कारोबार रकममा कमी आएको छ । सोही कारण कारोबारको अवस्था हेर्दै छौं ।’बोर्डले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरोकारवालाहरूसँग सुझाव संकलन गरेको छ । सोही क्रममा लगानीकर्ताले ब्रोकर कमिसन घटाउन सुझाव दिएका छन् ।’
सात महिनाअघि गत पुस ११ मा धितोपत्र बोर्डले सेयर किनबेच गर्दा ब्रोकरलाई तिर्नुपर्ने कमिसन करिब ३३ प्रतिशत घटाएको थियो । अन्य राष्ट्रको तुलनामा नेपालमा सेयर कारोबार शुल्क महँगो भएको भन्दै लगानीकर्ताले घटाउन माग गरेपछि अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए । सोही निर्देशनपछि बोर्डले शुल्क घटाएको थियो । त्यसपछि बजारमा कारोबार रकम धेरैले बढ्न थालेपछि फेरि कमिसन घटाउने गृहकार्य सुरु भएको हो । पछिल्लो समय सेयर बजारमा ८५ देखि ९० प्रतिशतसम्म कारोबार अनलाइनमार्फत हुने गरेको, दैनिक कारोबार परिमाणमा बढोत्तरी हुँदै गएकोलगायत कारण धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पुनरावलोकन गरी समसामयिक बनाइनुपर्ने अध्यक्ष ढुंगानाले बताए । हाल सेयर खरिदबिक्री गर्दा लगानीकर्ताले कारोबार रकमको ०.२७ देखि ०.४ प्रतिशत रकम ब्रोकरलाई शुल्क तिर्नुपर्छ । यसअघि ०.४ देखि ०.६ प्रतिशतसम्म शुल्क लाग्ने व्यवस्था थियो । संगठित संस्थाको सेयर कारोबारमा ब्रोकरले ५० हजारसम्मको कारोबारमा ०.४०, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० र एक करोड रुपैयाँभन्दा माथिका सबै कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ सरकार वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्रको खरिदबिक्री कारोबारमा पनि शुल्क तोकिएको छ । यसअनुसार ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.१०, ५ लाखदेखि ५० लाखसम्म ०.०५ र ५० लाखभन्दा माथिका सबै कारोबारमा ०.०२ प्रतिशत शुल्क लिन पाउने व्यवस्था छ ।सेयर कारोबार शुल्क घटाउने विषय बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उल्लेख छ ।

0Shares