भागरथी भट्टको आज अन्तिम संस्कार
काठमाडौ,फागुन ७: बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको १७ औं दिनमा बैतडीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका सदस्यहरुले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन् ।
भागरथीका काका लक्ष्मण भट्टले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहित छलफल भइरहेको बताए । ‘हामी छलफल गरिरहेका छौं ।प्रमाणहरु नष्ट नहोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसको निचोडमा पुगेपछि शव उठाउने छौं,’ लक्ष्मणले भने ।जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर जनक धामीले पनि शव उठाउने तयारीमा रहेको बताए ।गत माघ २१ गते विद्यालयबाट घर जान हिँडेकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । पोष्टमार्टम गर्दा उनको बलात्कारपछि हत्या भएको पत्ता लागेको थियो ।