कृषि

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

0Shares

ग्याप्स अनलाइन मिडिया

माघ, पाल्पा ।  व्यावसायिक मौरीपालनबाट यहाँका किसानको जीवनशैलीमा सुधार आएकोे छ । कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा मौरीपालन व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पाल्पाका युवाहरु यसतर्फ आकर्षित भएका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाका युवाहरु मौरीपालन व्यवसायबाट गतिलो आम्दानी गर्न सफल बनेका छन् ।

यहाँका किसान मौरीपालन व्यवसायबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्न सफल भएका हुन् । २५–३० घरपरिवारले व्यावसायिक रुपमा मौरीपालन गरी उत्पादित मह बेचेर परिवारका लागि चाहिने खर्च जुटाउन सफल बनेको स्थानीयवासी डोलबहादुर विश्वकर्माले बताउनुभयो । स्थानीयवासी दयाराम पाण्डेयले १८÷२० वटा मौरीका घारमा व्यावसायिक रुपमा नै मह उत्पादन गर्दै आउनुभएको छ ।

उहाँको घरलाई मौरीका घारले घेरिएका छन् । एउटा घारबाट शुरु गरेको मौरीपालन व्यवसायबाट प्राप्त आम्दानीले अहिले उहाँलाई दुई–चार हजार रुपैयाँका लागि अरूको भर पर्नु पर्दैन । मौरीपालन व्यवसायबाट नै वार्षिक तीन लाखको हाराहारीमा मह बेचेर आम्दानी हुने गरेको उहाँले बताउनुभयो । परिवारका लागि चाहिने खर्च महले जुटाउन थालेपछि पाण्डेय परिवार खुशी छन् ।

एकपटकमा ४० देखि ५० मानासम्म रस उत्पादन हुन्छ । यस्तै स्थानीयवासी दामोदर अधिकारीको पनि छ घारमा रहेको मौरीबाट वार्षिक पचास हजारदेखि एक लाखसम्म आम्दानी हुने गर्छ । यही मौरीपालन व्यवसायबाट पनि उहाँ प्रशस्त आम्दानी गर्नुहुन्छ । पशुपालन तथा खेतीपातीसँगै उहाँले मौरीपालन व्यवसायमा हात हाल्नुभयो ।

पूर्वखोला गाउँपालिका क्षेत्रभित्र व्यावसायिक रुपमा मौरीपालन व्यवसायप्रति किसान आकर्षित हुँदै आएको छ । गाउँपालिकाले गत वर्ष प्रत्येक वडाका किसानलाई मौरीसहितका घार र घारमात्र अनुदानमा वितरण गरिएको हो । मौरीसहितको घारलाई सात हजारमा ५० प्रतिशत अनुदानमा वितरण गरिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

गाउँपालिकाले मौरीपालन व्यवसायप्रति किसानलाई आकर्षित गर्नका लागि ४० गोला मौरीसहित घार र ६० थान खाली घार वितरण गरिएको कृषि शाखाप्रमुख सन्तोष कँडेलले बताउनुभयो । गाउँपालिकाभित्रका परम्परागत मौरीपालन गर्ने किसानलाई अनुदानमार्फत आधुनिक रुपमा मौरीपालन व्यवसायप्रति आकर्षित गरी आत्मनिर्भर बनाउन थालिएको गाउँपालिका कृषि शाखा प्रमुख कँडेलको भनाइ छ । चालु आवमा पूर्वखोला गाउँपालिकाले गोला मौरीसहित ८० थान आधुनिक घार वितरण गर्ने योजनामा छ ।

गाउँपालिका क्षेत्रभित्र हाल तीन सय किलो मह उत्पादन हुँदै आएको कृषि शाखाप्रमुख कँडेलले बताउनुभयो । उहाँका अनुसार मह उत्पादन वृद्धिसँगै स्थानीयवासीको आम्दानीमा समेत वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले मौरी स्रोत केन्द्र प्रवद्र्धनका लागि सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले मौरी स्रोत केन्द्रलाई व्यवस्थित गर्नका लागि आवश्यकता अनुसारका औजार तथा उपकरण सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । आधुनिक मौरीका घारमा मौरीपालन गर्ने चलन बढ्दो छ ।

पाल्पाको तानसेन नगरपालिकाको मदनपोखरा, बगनासकाली गाउँपालिकाको चापपानी बराङदी, रिब्दीकोट गाउँपालिकाको ठिमुरे, माथागढी गाउँपालिका लगायतका स्थानीय तहमा ठूलो मात्रामा मह उत्पादन हुँदै आएको छ । चैत, जेठ, असार, साउन, कात्तिक र मङ्सिर महिनामा मह बढी उत्पादन हुन्छ । असोजदेखि मङ्सिरको पहिलो हप्तामा मह निकाल्न सकिने व्यवसायीहरुको भनाइ छ ।

जङ्गलमा फूल फुलेपछि मौरीले रस ल्याउँछन् । तोरी, दालचिनी, चिउरी लगायतका फलफूल फुलेपछि मौरीले मह हाल्ने गर्दछन् । मौरीलाई रातिमा वन्यजन्तुबाट जोगाउनुपर्छ र दिनमा कीरा तथा अरिङ्गालबाट जोगाउन सकेको अवस्थामा राम्रो आम्दानी हुन्छ ।

सजिला–अप्ठ्यारा

कृषिमा मौरीपालन सजिलो व्यवसाय हुँदाहुँदै पनि यसका अनेकौं समस्या छन् । परिणाम, प्रतिकिलो ५०० अमेरिकी डलरसम्म पाइने नेपाली मह अन्तर्रा्ष्ट्रिय बजारमा पु¥याउनै नसकिएको मह विज्ञ बताउँछन् । देशका मह किसानले आफ्नो ठाउँबाट काम गरे पनि सरकारले मौरीलाई अरू कीटपतंगको रूपमा मात्र बुझिदिँदा यसबाट पाइने जति लाभ लिन नसकिएको समेत अधिकारीहरुको भनाइ छ ।

त्यस बाहेक लामो समयसम्म मह उधारोमा दिनुपर्ने, चरनको लागि धेरै टाढा पु¥याउनुपर्ने लगायतका समस्या छन् । र पनि, लगानीको तुलनामा धेरै फाइदा हुने र काम गर्न पनि सहज हुने भएकोले नेपालमा मौरी व्यवसाय उत्साहजनक छ । मौरी पालनलाई ‘पार्ट टाइम’ व्यवसाय भन्दा फरक पर्दैन । यसलाई बंगुर, बाख्रा, कुखुरा वा गाई–भैंसीलाई जस्तो चौबीसै घण्टा टहल गर्नुपर्दैन । मह बनाउन आफैं कठिन परिश्रम गर्ने मौरी पालनलाई पशुपालक र फलफूल किसानले मात्र हैन, शिक्षक, वकील, नर्स, गायक, नायक सबैले ‘पार्ट टाइम जब’ बनाउन सक्छन् ।

मौरीले फलफूल र अरू बालीहरूमा परागसेचन प्रक्रिया चलाइरहेका हुन्छन् । यसबाट फलफूल तथा बीउ उत्पादन वृद्धिका साथै वातावरण सन्तुलनमा सघाउ पुगिरहेको हुन्छ । मौरीको कुटबाट बन्ने मैनबत्ती सुगन्धित र स्वस्थकर हुन्छ । नेपालमा मेलिफेरा र सेरेना प्रजातिका मौरी पाल्ने गरिएको छ । मह उत्पादनको हिसाबले बढी फाइदाजनक मानिने मेलिफेरा मौरी सेरेनाभन्दा अलि ठूलो र कालो हुन्छ ।

0Shares