अन्तराष्ट्रिय

स्वदेश फर्कियो चिनियाँ टोली

0Shares

काठमाडौं, पुस १५ :  चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली बुधबार चीन फर्किएको हो । यसअघि उनीहरु आइतबार एअर चाइनाको चार्टर्ड विमानमार्फत नेपाल आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद बढ्दै गएको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री येचौको टोली काठमाडौं आएको थियो । नेपाल भ्रमणका क्रममा चिनियाँ टोलीले अझै पनि मिल्न सक्ने ठाउँ छ भने मिल्नका लागि नेकपाका नेताहरुलाई आग्रह गरेको थियो । टोलीले सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो । यस्तै टोलीले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेता झलनाथ खनाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायत सँग छलफल गरेको थियो । नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि उनीहरुलाई पुनः एक ठाउँमा ल्याउन चिनियाँ टोली आएको भनिएतापनि चिनियाँ टोलीले त्यसको खण्डन गरेको छ । नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदानलगायत विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको उनीहरुले स्पष्ट पारेका छन् ।

0Shares