राष्ट्रिय

हिमाल आरोहण खुला

0Shares

काठमाडौ,फागुन १८: पर्यटन विभागले वसन्तयामका लागि सगरमाथालगायत हिमाल आरोहण खुला गरेको छ । तर हालसम्म कसैको पनि आवेदन नपरेको विभागले जनाएको छ ।‘यो सिजनमा करिब ३ सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेका छौं,’ विभाग निर्देशक मीरा आचार्यले भनिन्, ‘१५ जना नेपालीसमेत उक्लने तयारीमा छन् ।’
गत वर्ष कोरोना महामारीका कारण सरकारले वसन्तकालीन आरोहण अभियान स्थगन गरेको थियो । विभागले सगरमाथा आधार शिविरमाथिको खुम्बु आइसफल हुँदै पहिलो शिविर (६१ सय मिटर उचाइ) सम्मको बाटो बनाउने जिम्मा सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपीसीसी) लाई दिएको छ ।
निर्देशक आचार्यका अनुसार आइतबार ८ जना आइसफल डाक्टर लुक्ला हुँदै सगरमाथा आधार शिविरतर्फ लागेका छन् । उनीहरूले भर्‍याङ राखेर आरोहीका लागि बाटो बनाउनेछन् । दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने जिम्मा एक्सपिडिसन अपरेटर्स एसोसिएसनले पाएको छ । एसोसिएसन अध्यक्ष डम्बर पराजुलीका अनुसार सो कार्यका लागि चैत पहिलो साता ८ जना हाई–अल्टिच्युट गाइड त्यसतर्फ जानेछन् ।

0Shares