दिवेश पोखरेल फेरि आइडलमा प्रतिस्पर्धा गर्ने
काठमाडौ,वैशाख ६: अमेरिकन आइडलको १८ औं सिजनमा उपविजेता बनेका नेपाली गायक दिवेश पोखरेल फेरि आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।आइडलले गत वर्षका १० गायक/गायिकालाई प्रतिस्पर्धाका लागि निम्तो दिएसँगै स्टेज नाम अर्थर गनले चिनिने पोखरेलसहित ९ जनाले अप्रिल १९ मा प्रशारण हुने कार्यक्रमका लागि प्रतिस्पर्धा गर्नेछन् । कमब्याक प्रतिस्पर्धी’हरुमा जसले बढी भोट पाउनेछन् त्यसले नै यो सिजनको शीर्ष १० मा प्रवेश पाउने बिलबोर्डले उल्लेख गरेको छ ।आगामी अप्रिल १९ मा प्रशारण हुने आइडलमा यी १० प्रतिस्पर्धीहरुले स्टेजमा आफ्नो प्रस्तुति दिनेछन् । यसअघि कोभिड महामारीका कारण यी प्रतिस्पर्धीहरुले घरबाटै आफ्नो प्रस्तुति दिएका थिए ।
दिवेशसँगै फेथ बेक्नेल, फ्र्यांकलिन बुन, ड्वाने क्रकर जुनियर, सिनाय एलिस, आलियाना जेस्टर, लुइस नाइट, निक मेरिको, मिकेल फिलिप्स, ओलिभिया जेमिनिसले अमेरिकन आइडल जित्ने दोस्रो मौका पाएका छन्। कमब्याक प्रतिस्पर्धीको घोषणा भएसँगै गायक पोखरेल सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भोट माग्न सुरु गरिसकेका छन् । ‘तपाईंहरुलाई थाहै छ यो अप्रिल १९ मा कमब्याक प्रस्तुति हुनेछ । सोमबार प्रशारण हुने कार्यक्रम हेरेर तपाईंको मनपर्ने प्रतिस्पर्धीलाई भोट दिनुहोस् जसलाई तपाईं शीर्ष १० मा देख्न चाहनुहुन्छ,’ अर्थरले इन्स्टाग्राममा लेखेका छन्। कमब्याक प्रतिस्पर्धीको घोषणा भएसँगै धेरैले यसलाई दिवेशका लागि अमेरिकन आइडल जित्ने दोस्रो मौकाका रुपमा चर्चा गर्न थालेका छन् । गत वर्ष दिवेशलाई धेरैले आइडलका विजेताको दाबेदारका रुपमा व्याख्या गरेका थिए । तर त्यो वर्ष धेरै भोट पाएर जस्ट स्याम विजेता भएकी थिइन् ।