मनोरंजन

सिनेमा हल खोल्न दिने हो तत्काल चलचित्र रिलिज हुने अवस्था छैन

0Shares

काठमाडौ,असार २५: चलचित्र उद्योग ठप्प प्रायः बनेको लामो समय भयो । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरको बीचमा र अहिले अधिकांश पेसा तथा व्यवसाय सञ्चालनमा आए पनि चलचित्र क्षेत्र भने बन्द नै छ । भिडभाड हुने क्षेत्र भन्दै सरकारले चलचित्र क्षेत्र खोलेको छैन । कोरोना संक्रमणको त्रास कायम नै रहेको र केही दिनयता पुनः बढ्न थालेको अवस्थामा सिनेमा हल तत्काल सञ्चालन हुने अवस्था छैन ।यदि, कोरोना संक्रमणको जोखिम कम हुँदै जाने हो भने र सरकारले हल खोल्न दिने हो भने पनि तत्काल चलचित्र रिलिज हुने अवस्था छैन । कारण, मेकरहरु जोखिम मोलेर आफ्नो चलचित्र रिलिज गर्न तयार छैनन् । हल खुले पनि ‘पर्ख र हेर’को रणनीतिमा निर्माताहरु बस्नेछन् ।

स्वास्थ्यमा जोखिम मोलेर दर्शक चलचित्र हेर्न आउँछन् भन्ने निश्चित नभएसम्म निर्माताहरु आफ्नो चलचित्र रिलिज गर्न तयार नहुने कलाकार खगेन्द्र लामिछाने बताउँछन् । जबसम्म कोरोना अगाडिको जस्तो भयरहित अवस्थामा समय फर्किँदैन, तबसम्म चलचित्र रिलिज नहुने उनको भनाइ छ ।चलचित्र क्षेत्रलाई चलायमान बनाउन निर्माता र हल सञ्चालकबीच सम्झौता हुनुपर्ने उनको दृष्टिकोण छ । “यदि, कोरोना संक्रमण केही साम्य हुनेबित्तिकै र हल खोल्ने अनुमति पाएपछि चलचित्र रिलिज गरिहाल्ने हो भने निर्माता र हल सञ्चालक मिलेर जानुपर्छ,” निर्देशकसमेत रहेका खगेन्द्र भन्छन्, “हलहरुले प्रतिहल एक/डेढ लाख रुपैयाँ निर्मातालाई ग्यारेन्टी दिनुपर्छ । यसो गरेको अवस्थामा भने अवस्था केही साम्य हुनासाथ चलचित्र रिलिज हुन्छन् ।”देशभरका सयवटाभन्दा धेरै हलले एक/एक लाख उठाएर निर्मातालाई एमजी गर्ने हो भने केही हदसम्म लगानी सुरक्षित हुने हुँदा निर्माता रिलिजका लागि तयार हुने उनी बताउँछन् ।“दर्शक आएनन् र हलको लगानी डुब्यो भने पनि एक/डेढ लाख डुब्ने हो । तर, निर्माताले मात्रै जोखिम उठाउँदा उसको पूरै लगानी डुब्छ,” खगेन्द्र भन्छन्, “मेरो चलचित्रमा दुई करोड लगानी भएको छ । दुई करोड डुब्दा म फेरि यो चलचित्र क्षेत्रमा आउनै नसक्ने गरी डुब्छु । तर, डुब्यो भने पनि हलको एक/डेढ लाख मात्रै डुब्ने हो ।”
कोरोनाका कारण खगेन्द्रको ‘पानीफोटो’ निर्माण सम्पन्न भए पनि रिलिज हुन नपाएको चलचित्र हो । लामो समयदेखि बन्द रहेको चलचित्र क्षेत्र चलायमान बनाउन दुवै पक्ष लचक हुनुपर्ने उनको भनाइ छ ।निर्माता तथा कलाकार माओत्से गुरुङ चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन चलचित्र विकास बोर्डको ठूलो हात हुने बताउँछन् । यद्यपि, चलचित्र क्षेत्रसँग सम्बन्धित संघ–संस्था र चलचित्र विकास बोर्डले यसमा ध्यान दिन नसकेको उनको गुनासो छ ।“यस्तै अप्ठ्यारो परिस्थितिमा सहयोग चाहिने हो । महामारीको समयमा चलचित्र विकास बोर्ड र राज्यका सरोकारवाला निकायहरुले चलचित्रकर्मीहरुलाई प्योकजमै सहयोग ल्याउनुपर्ने थियो । तर, आएन,” उनी भन्छन्, “कला र संस्कृतिको रक्षाका लागि काम गर्नेहरु नै राज्यबाट उपेक्षामा परेको अनुभव हामीले गरिरहेका छौँ । नाफाको हिसाब–किताब गरेर मात्रै नभएर देशको कला, संस्कृतिको रक्षाका लागि चलचित्र पहिचान गरेर सहयोगको प्याकेज घोषणा गर्नुपर्छ ।”माओत्से दुई वर्षदेखि चलचित्र रिलिज गर्न नपाएर बसिरहेका छन् । करोडौँ लगानीको चलचित्र दुई वर्षदेखि रिलिज नहुँदा ठूलो घाटा बेहोरिरहेको उनी बताउँछन् ।देशको कला, भाषा, संस्कृति र संस्कारको संरक्षणको उद्देश्य राखेर बनाइएका चलचित्रको पहिचान गर्नु आवश्यक रहेको उनले औँल्याए । यसो गरिए निर्माताको मनोबल उच्च हुने अन्यथा पेसा नै परिवर्तन गर्ने अवस्था आउने उनी बताउँछन् ।

0Shares