राष्ट्रिय

नौ हजार बढिले लगाए कोरोनाविरुद्धको खोप

0Shares

काठमाडौँ, माघ १५ : बुधबार देखि सातै प्रदेशमा सरकारले कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, सुरक्षाकर्मीलगायतले खोप लगाएका छन् । भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप पहिलो चरणमा बुधबारदेखि लगाउन शुरु गरिएको हो । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९ हजार ८४ जनालाई खोप लगाइएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभयो । प्राविधिक कारणले बाँकी जिल्लामा खोप सेवा सुरु हुन नसकेको जनाइएको छ ।यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा केन्द्रबाट १८ वर्ष माथिकाले प्राथमिकताका आधारमा निःशुल्क लगाउन पाउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै सबै नेपालीले कोरोनाविरुद्धको खोप निःशुल्क रूपमा पाउने बताउनुभयो । खरिद वा अनुदान जुनसुकै माध्यमबाट प्राप्त भए पनि नेपाली नागरिकलाई खोप निःशुल्क गरिने जानकारी दिँदै उहाँले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने सरकारको नीति रहेको बताउनुभयो । प्र.म ओलीले बिनाभेदभाव प्राथमिकताका आधारमा सबै नेपालीलाई खोप दिने बताउनुभयो ।

स्वास्थ मन्त्रालयका अनुसार खोप लगाएका व्यक्तिमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल लगायतमा खोप अभियान शुरु गरिएको छ । यी अस्पतालमा प्रधानमन्त्री ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीका साथै स्वास्थ्य मन्त्रालयका पदाधिकारीले स्थलगत अनुगमन गर्नुभएको थियो ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना खोप लगाएपछि निश्चिन्त भएको बताउँदै खोप लगाएर आफू गौरवान्वित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ढुक्क भएर खोप सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि मैले पहिलो खोप लगाएँ ।

0Shares