राष्ट्रिय

मन्त्री पाण्डेको स्वास्थय अवस्था गम्भीर

0Shares

काठमाडौ,साउन १३ : लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी परेकी छन् । आईतबार रातिदेखि अचानक दुवै खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएपछि काठमाडौंको नर्भिक अस्पतालमा मन्त्री पाण्डेको उपचार भईरहेको छ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सदस्य बनेकी पाण्डे पहिलो पटक गत वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्री नियुक्त भएकी थिईन् । आइतबार दिनभर विभिन्न कार्यक्रममा सहभागि भएकी पाण्डे रातीदेखि अचानक विरामी परेपछि रुपन्देहीको भैरहवा र बुटवलहुँदै काठमाडौं पुर्‍याईएको हो । मन्त्री पाण्डेका पति नवराज लम्सालले चिकित्सकले उनलाई न्युरोसम्बन्धी रोग (जिडिएस) भएको जानकारी गराएको र सोही अनुसार उपचार भईरहेको बताएका छन् ।
चिकित्सकले ईम्युनोसिस्टम कमजोर बन्दै गएर खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएको बताए पनि के कारण यस्तो भएको भन्ने यकिनसाथ भन्न नसकिएको लम्सालले जानकारी दिए । ‘के कारण यस्तो भएको हो चिकित्सकले पनि यसै भन्नुभएको छैन, कोभिड विरूद्धको खोपको कारण पनि यस्तो समस्या देखिन सक्ने बताउनुभएको छ,’ लम्सालका अनुसार मन्त्री पाण्डेले गत असार २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिशिल्डको दोस्रो डोज खोप लगाएकी थिईन् । खोप लगाएको तीन सातासम्म खोपको असर नदेखिए पनि २१ दिनपछि अचानक खुट्टा नचल्नुका साथै शरीर शिथिल बन्दै गएको थियो । मन्त्री पाण्डे गत आईतवार दिनभर रूपन्देहीमा महिलाले सञ्चालन गर्न लागेको अस्पतालको शिलान्यास कार्यक्रममा सहभागि भएकी थिईन् । साँझ खाना खाएर सुत्ने समयमा अचानक दुवै खुट्टाको घुँडादेखि तल झमझम बन्दै चल्न बन्द भएपछि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा लगिएको थियो । पछि मुटुको समस्या हुनसक्ने भन्दै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याईएको थियो । भैरहवा र बुटवलमा परीक्षण र उपचार गर्दा नशासम्बन्धि समस्या देखिएपछि उनलाई काठमाडौं लगिएको पति लम्सालले बताए । शुरूमा खुट्टाको घुँडादेखि तल नचल्ने हुँदै उनको अहिले झमझम गर्ने र नचल्ने क्रम कम्मरसम्म पुगेको छ।मंगलबारदेखि भने कमजोर बन्दै गएको ईम्युनोसिस्टम बढाउने सुई लगाउन शुरु गरिएको लम्सालले बताएका छन् । ईम्युनोसिस्टम बढाउने एउटै सुईलाई १८ हजार पर्ने र दैनिक ६ वटा सुई लगाउनुपर्दा उपचारमा आर्थिक समस्या भएको उनले बताए । ‘चिकित्सकले एकै दिनमा सवालाखको सुई मात्रै लगाउनुपर्छ भन्नु भएको छ, उपचार पद्धति महंगो भए पनि कहिलेसम्म रोग निको हुन्छ भनेर चिकित्सकले पनि भन्न सक्नुभएको छैन’, उनले भने ।

0Shares