आजदेखि दैनिक ६४ उडानसहित आन्तरिक उडान सुचारु
काठमाडौ,असार १७ : कोरोनाका कारण ठप्प भएको आन्तरिक उडान आज देखि सुचारु हुने भएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाईएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा सुचारु गर्ने निर्णय गरेको हो । उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छेन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ ।
बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ । हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ ।